`

२० दिनदेखि मनाङमा बेपत्ता बाबु–छोरी मृत भेटिए

मनाङ । मनाङ घुम्न आएका दुई भारतीयको शव २० दिनपछि फेला परेको छ । ३ कात्तिकदेखि सम्पर्कविहीन भएका भारतका ५२ वर्षीय जिग्नेशकुमार लल्लुभाइ पटेल र १७ वर्षीया प्रियन्साकुमारी पटेलको शव सशस्त्र प्रहरीले आज फेला पारेको हो । मनाङको ङिस्याङ गाउँपालिका ४ स्थित ग्याल्सेन होटेलबाट ३ कात्तिकमा वडा नम्बर ५ मा रहेको मलेरिपा गुम्बा घुम्न जान्छु भनि हिँडेका उनीहरु सम्पर्कविहीन भएका थिए । प्रहरी प्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार मृतक बाबु–छोरी हुन् ।

उनीहरु सम्पर्कविहीन भएपछि उक्त होटेलले खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो । सम्पर्कविहीन भएका उनीहरुको तालिम शिक्षालय मनाङले खोजी गरिरहेकामा नभेटिएपछि पुनस् २३ कात्तिकमा सशस्त्र प्रहरी नायब उपरीक्षक हीराबहादुर जीसीको कमान्डमा उद्धार सामग्रीसहित खटिएको माउन्टेन रेस्क्यु तालिम प्राप्त टोलीले उनीहरुको शव गुम्बाबाट करिब सय मिटरमाथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो ।

परस्त्रीसँग होटलमा ‘डेट’ गएका पुरुषको रहस्यमय मृत्यु, महिलामाथि किटानी जाहेरी

बुटवल । रुपन्देहीको बुटवलमा एक विवाहित महिलासँग होटल गएका एक पुरुषको रहस्यमय मृत्यु भएको छ । मृतक पुरुषका आफन्तहरूले महिलामाथि किटानी जाहेरी दिएका छन् । बुटवल–३ फूलबारीकी करिब ३० वर्षीया विवाहित महिला शनिबार दिउँसो बुटवल–६ चाँदवारीका ५६ वर्षीया पुरुषसँग होटलमा पुगेकी थिइन् । उनी दुई स–साना बालबालिकासहित बुटवलको मिलनचोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एण्ड लज मा पुगेकी थिइन् ।

प्रहरीका अनुसार उनीहरुले होटलका दुईवटा कोठा बुक गरेका थिए । एउटा कोठामा महिलाकी छोरी र भतिजीलाई राखिएको थियो भने अर्को कोठामा ती पुरुष र महिला बसेका थिए । केही समयपछि उनीहरूले होटलकै कोठामा खाजा मगाएर खाएका थिए । खाजा खाएलगत्तै पुरुष अचानक बेहोस भएका थिए । महिलाले तुरुन्तै होटल सञ्चालकलाई खबर गरेकी थिइन् र होटलका कर्मचारीले उनलाई एम्बुलेन्समार्फत लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याएका थिए । तर चिकित्सकले उनलाई मृत घोषित गरे ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर रानाका अनुसार मृतकको शरीरमा बाहिरी चोट पटक केही नदेखिएको र मृत्युको कारण यकिन गर्न पोष्टमार्टम रिपोर्टको प्रतीक्षा भइरहेको छ । ‘प्रारम्भिक अनुसन्धानमा उनीहरूबीच कुनै पारिवारिक वा वैधानिक सम्बन्ध नरहेको देखिएको छ,’ डीएसपी रानाले भने, ‘घटनाको सम्पूर्ण पक्ष खुलाउन अनुसन्धान भइरहेको छ ।’

मृतक पुरुषका दुई छोरी र श्रीमती छन् । उनी चाँदवारीमा घर बनाएर मैनाबगर क्षेत्रमा अटो व्यवसाय गर्थे । छिमेकीहरूका अनुसार उनी मुटुका बिरामी थिए र औषधि सेवन गर्थे । मृत्युअघि उनले कुनै थप औषधि खाएको वा अन्य कारणले समस्या भएको हुन सक्ने आशंका छ ।
तर मृतककी छोरीले इलाका प्रहरी कार्यालयमा महिलामाथि किटानी जाहेरी दिएकी छिन् । प्रहरीले जाहेरी दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।

यस्तै घटनापछि प्रहरीले होटल सञ्चालक र रुपन्देही होटल व्यवसायी संघका प्रतिनिधिलाई समेत बोलाएर छलफल गरेको छ । होटल व्यवसायी संघका अध्यक्ष माधव खनालका अनुसार घटनापछि सुरक्षात्मक तथा प्राविधिक पक्षमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको छ ।
‘होटलमा बसेका पाहुनामध्ये पुरुष बेहोस भएपछि तुरुन्तै अस्पताल पु¥याइएका थिए,’ खनालले भने, ‘तर डाक्टरहरूले उनलाई मृत घोषणा गरेपछि परिवारले महिलामाथि शंका गरेको हो । अहिले प्रहरी अनुसन्धानको निष्कर्ष आउन बाँकी छ ।’

स्वागत नेपालसँग प्रहरीले लियो ६ घण्टा बयान

काठमाडौं । अधिवक्ता समेत रहेका राजसंस्था पुनःस्थापना अभियन्ता स्वागत नेपालसँग प्रहरीको साइबर ब्युरोले करिब ६ घण्टा बयान लिएको छ । भोटाहिटीस्थित ब्युरोमा आइतबार अधिकारीहरूले उनीसँग दिउँसो २ बजेदेखि राति करिब ८ बजेसम्म बयान लिएका हुन् । त्यसपछि उनलाई फेरि उपस्थित हुने शर्तमा परिवारको जिम्मा लगाइएको हो । सनाखतका लागि उनलाई ११ कात्तिकमा पनि ब्युरोमा उपस्थित हुन भनिएको छ । उनले आफूविरुद्ध प्रधानमन्त्री सुशीला कार्कीले उजुरी दिएको हो वा प्रहरीलाई लागेर अनुसन्धान गरेको भनेर प्रश्न पनि गरेका छन् । ११ गते आफूविरुद्ध उजुरी नदेखाइ सनाखत नगर्ने नेपाल बताएका छन् ।

नेपालसँग सोधपुछ गरिएको ब्यूरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थीले बताए । ‘उहाँ हिजो आउनु भएको थियो करिब साढे ५, ६ घण्टा जति कुराकानी भएर जानुभयो,’ अवस्थीले भने । एसपी अवस्थीका अनुसार आज बिदा परेकाले भोलि (मंगलबार) थप सोधपुछ हुने बताए । नेपाल पनि मंगलबार उपस्थित हुने भन्दै ब्यूरोबाट बाहिरिएका थिए । उनीमाथि लागेको आरोपका बारेमा प्रहरीले उनीमाथि सोधपुछ गरेको हो ।

प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध निराधार आरोप लगाएको आरोपमा अभियन्ता नेपाललाई ब्युरोले बोलाएको थियो । ‘मैले प्रधानमन्त्री सुशीला कार्कीले संविधानभन्दा बाहिर गएर कोही पनि प्रधानमन्त्री नियुक्त हुन सक्दैन भनेर विगतमा दिएको अभिव्यक्तिकै आधारमा उहाँलाई अनैतिक भनेको थिएँ । उहाँले चुनाव गराउन सक्नु हुन्न भन्ने पनि उहाँकै अभिव्यक्तिमा आधारित थियो । जेनजीहरूले चुनाव गराउन दिनु हुन्न भनेको होइन, दिनु हुने छैन भनेको हुँ’, नेपालले भने, ‘सुशीला कार्की ज्यू अनैतिक हुनुहुन्छ भन्दा साइबर क्राइम भयो रे ।’

बयानका क्रममा नेपालले आफ्नो अभिव्यक्ति साइबर अपराधअन्तर्गत नपर्ने दाबी गरेका छन् । ‘मैले बोलेको कुन चाहिँ अभिव्यक्ति साइबर क्राइम हो ?’, उनले प्रश्न गरेका थिए, ‘साइबर क्राइम भनेको विद्युतीय कारोबर ऐन २०६३ को दफा ४७ हो । मैले भनेका कुरा त सबै राजनीतिक कुरा हुन् ।’

 

महाराजगञ्जमा प्रहरीको हत्या आरोपमा थप पाँच जना पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको आक्रमणबाट असई मिलन राय र जवान उत्तम थापाले ज्यान गुमाए । प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत दुई जना प्रहरीको हत्यामा संलग्न आरोपमा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएका २१ वर्षीय सोम गुरुङ, तनहुँ घर भएका २१ वर्षीय राजीव गुरुङ र २१ वर्षीय युनिक श्रेष्ठ छन् ।

सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछाप घर भएका १६ वर्षीय दीपक मगर पनि भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँका हिरासतमा छन् । उनीहरुले कुटपिट गरेर महाराजगञ्जमा कार्यरत दुई जना प्रहरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । महाराजगञ्जमा प्रहरीको हत्यामा संलग्न ४ जना आरोपीहरू यसअघि नै पुर्पक्षका लागि कारागार चलान भएका थिए । काठमाडौँ जिल्ला अदालतको आदेशपछि कारागार चलान हुनेहरूमा युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होम प्रसाद पौडेल र टस्काराम बिक छन् ।

काभ्रेको रोशी गाउँपालिका घर भएर बालुवाटार बस्ने २८ वर्षीय क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका–७ घर भएर चन्द्रागिरी बस्ने २१ वर्षीय थिङले जवान उत्तम थापालाई कुटेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–४ घर भएर धुम्बाराही बस्ने ६२ वर्षीय पौडेल र उदयपुरको चौदण्डीगढी नगरपालिका–१० हडिया घर भएर बालकुमारी बस्ने २८ वर्षीय टिकाराम विकले असई रायको हत्या गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।

महाराजगञ्जमा प्रहरीको हत्यामा संलग्न रहेर पछि पक्राउ परेकाहरू विरुद्ध अनुसन्धान सकेर पूरक अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । सुमित तितुङ र दीपक मगरलाई प्रहरीले असार ३१ देखी भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । हत्यामा संलग्न अरू ३ जना आरोपी चाहिँ कार्तिक ३ मा पक्राउ परेका हुन् ।

जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुन्छन् : प्रहरी महानिरीक्षक खापुङ

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जेनजी आन्दोलनमा अपराधिक गतिविधि गर्नेहरू दण्डित हुने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आन्दोलनको बहानामा अपराधिक कार्यहरू पनि भएको उल्लेख गर्दै उनीहरूमाथि कारबाही हुने बताएका हुन् ।

प्रहरी महानिरीक्षक खापुङले समाजलाई धमिल्याउने अपराधिक गतिविधिहरूलाई प्रहरीले कुनै पनि हालतमा रोक्नुपर्ने भएकाले त्यस्ता तत्त्वलाई निशाना बनाएर अघि बढ्नुपर्ने अवस्था रहेको समेत बताए । जेनजी आन्दोलनपछि प्रहरीहरूको मनोबल खस्केको भन्ने भनाईमा सत्यता नरहेको उनले बताए । प्रहरी महानिरीक्षक खापुङले जेनजी आन्दोलनपछि प्रहरीहरू स्थानीय जनताको सहयोगमा नै सबै चौकीहरूमा पुनः स्थापना हुन सकेको बताएका छन् ।

खापुङले भने, ‘जेनजी आन्दोलनको बहानामा, त्यही परिस्थितिमा समाजलाई धमिल्याउन खोज्ने अपराधिक प्रवृत्तिहरु पनि चलखेल भएको देखिएको छ । त्यो वास्तवमा गलत हो । त्यो अपराधिक कार्य नै हो । त्यस्ता अपराधिक कार्यहरू दण्डित हुनुपर्छ । उनीहरू क्रमशः दण्डित हुन्छन् भन्ने कुरा यहाँहरू सबै समक्ष आश्वस्त पनि बनाउन चाहन्छु । यो आन्दोलन पश्चात् आम रूपमा प्रहरीको मनोबल खस्केको जस्तो पनि देखिएको थियो । तर प्रहरीको मनोबल खस्कनुपर्ने कुनै कारण छैन । प्रहरीप्रति आम वर्गको अपेक्षा ठुलो छ । तर ती सबैको अपेक्षा पूर्ति गर्न सक्ने अवस्था रहँदैन । प्रहरीले त रोक्नुपर्ने हुन्छ । नो भन्नुपर्ने हुन्छ । कुनै पनि अपराधिक गतिविधिलाई रोक्नुपर्ने हुन्छ ।’ खापुङले समाजलाई शान्ति सुरक्षा दिने दायित्वबाट नेपाल प्रहरी कहिल्यै पछि नपर्ने दाबी समेत गरे ।

बाघको आक्रमणबाट एकको मृत्यु

नेपालगञ्ज । पछिल्लो समयमा बाँके र बर्दियामा बाघ र चितुवाको आक्रमणबाट मृत्यु र घाइते हुनेको संख्या बढ्दै गएको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जबाट बाहिर निस्कने बाघ र चितुवाले निकुञ्ज वरिपरिका क्षेत्रमा घाँस दाउरा गर्न गएका मानिसहरुमाथि निरन्तर आक्रमण गरिरहेका छन् ।

सोही क्रममा पछिल्लो पटक बाघको आक्रमणमा परी बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरीमा एक पुरुषको मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–९ गुरुवागाउ नमुना टोल निवासी ४० वर्षीय इन्द्रबहादुर खत्रीको मृत्यु बाघको आक्रमणबाट भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार राप्ती सोनारीको रिम्ना सामुदायिक वनमा शुक्रबार दिउँसोबाट बेपत्ता भएका खत्री साँझसम्म पनि घर नफर्कंदा स्थानीयवासीहरूले खोजतलास गर्दा शनिबार बिहान करिब ७ः३० बजे बाघले आक्रमण गरेको अवस्थामा शव फेला परेको हो ।

तीन टुक्रा भएको अवस्थामा शव भेटिएकाले उनको मृत्यु बाघकै आक्रमणबाट भएको देखिएको जनाउँदै उनले सो बारेमा अनुसन्धान भइरहेको बताए । बाँके निकुञ्ज वरिपरिका क्षेत्रमा प्रायजसो बाघ र चितुवाको आक्रमणका घटनाहरु भइरहेकाले स्थानीय बासिन्दालाई घाँस दाउरा गर्न जाँदा एक्लै नजान र साँझको समयमा अनावश्यक रुपमा वनजङ्गल नजिक नजान पनि अनुरोध गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । निकुञ्ज वरिपरिका क्षेत्रमा पटक पटक बाघ र चितुवाको आक्रमण हुने गरेकाले सो क्षेत्रका स्थानीय निकै त्रसित र आतङ्कित बनेको राप्ती सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले बताए ।

पोखरामा साथीले गरे साथीको हत्या

पोखरा । कास्कीको पोखरामा आज (शनिबार) बिहानै एक जनाको हत्या भएको छ । पोखरा–५ पस्र्याङमा स्थानीय अनिल पराजुलीको धारिलो हतियार प्रहार गरी हत्या भएको कास्की प्रहरीले जनाएको छ ।

प्रारम्भिक जानकारीअनुसार स्थानीय ईश्वर तिमिल्सिनाले विवाद भएपछि घर फर्कने क्रममा पराजुलीमाथि आक्रमण गरेका थिए । प्रहरीले आक्रमणकारी भनिएका ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिइसकेको बस्नेतले बताए ।

हत्या गरिएका अनिल पराजुली र पक्राउ परेका ईश्वर तिमिल्सिना साथी भएको खुलेको छ । पराजुलीको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । कास्की प्रहरीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

प्रहरीबाट लुटिएको गोलीसहित दुई जना पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा प्रहरीबाट लुटपाट भएको तीन थान गोलीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रभाग, कोटेश्वरबाट खटिएको टोलीले एम्बुस (आकस्मिक) अपरेसनका क्रममा नरेफाँटबाट गोलीसहित उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दिया, बढैयाताल–३ घर भई काठमाडौंको कपनमा डेरा गरी बस्ने १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौंको मालीगाउँस्थित आनन्द भैरव मार्गमा बस्ने १६ वर्षीय सोनम थापा मगर छन् । उनीहरूले जेनजी आन्दोलनका क्रममा दरबारमार्गमा उक्त गोली भेटेको र साथमा लिएर हिंडेको बताएका छन् ।

त्यहाँबाट लुटिएका हतियारको विषयमा भने उनीहरूले अनविज्ञता प्रकट गरेको प्रहरी स्रोतले जनाएको छ । गिरीको बयानका आधारमा झापाका थापामगरसँग पनि गोली रहेको खुलेको थियो । उनको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको छ । उनीहरु दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

नहरमा डुबेर जुम्ल्याहा दिदी–बहिनीसहित तीन जनाको मृत्यु

कैलाली । कैलालीको जानकी गाउँपालिका–५ पथरैया गुजरुवाको सातविघा नजिकै नहरमा डुबेर दिदीबहिनीसहित तीन जनाको ज्यान गएको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गत कुलरिया नहरमा नुहाउने क्रममा जुम्ल्याहा दिदीबहिनीसहित तीन जना बालिकाको ज्यान गएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए ।

उनका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नं. १५ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं र जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो । निशा र मानुषी टीकापुरको जनजागृति माध्यमिक विद्यालय सीतापुरमा कक्षा ५ मा र सुलोचना जानकी गाउँपालिका–१ मा रहेको सरस्वती माध्यमिक विद्यालय दुर्गौलीमा कक्षा ४ मा अध्ययनरत थिए । डीएसपी डाँगीका अनुसार निशा र मानुषीको आफन्त कहाँ गएका बेला नहरमा नुहाउने क्रममा डुवेर ज्यान गएको हो । तीनै जनाको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

भाइटीका लगाएर फर्कदै गर्दा बसको ठक्करबाट मृत्यु

दाङ । दाङमा बसको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । दिदीको हातबाट तिहारको टीका लगाएर फर्किंदै गर्दा बसको ठक्करबाट राप्ती गाउँपालिका–५ सिंगै निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका –५ लमही बजार प्रतिष्ठा पेट्रोल पम्प नजिकै बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ९८७६ नम्बरको बसले ठक्कर दिएको थियो । गम्भीर घाइते भट्टराईको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी जनाएको छ । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।

तीन युवकको डुबेर मृत्यु

रुपन्देही । रुपन्देहीमा लक्ष्मी मूर्ति विसर्जन गर्दा खोलामा डुबेर तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका अनुसार रूपन्देहीको गैंडहवा गाउँपालिका–६ सूर्यपुरास्थित सन्तेश्वर घाटमा लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा बुधबार दिउँसो ३ बजेतिर तीन जना युवा खोलामा डुबेका थिए ।

खोलामा डुबेर मृत्यु हुनेहरुमा मायादेवी गाउँपालिका वडा नम्बर १ का १५ वर्षीय अजय हरिजन, १८ वर्षीय दीपु हरिजन र २५ वर्षीय रोहित हरिजन रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।

दिउँसो दानव र कञ्चन नदीको संगमस्थल सन्तेश्वर घाटमा मूर्ति विसर्जन गर्ने क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीय बासिन्दाले खोजीकार्य सुरू गरेका थिए । खोजी गर्दै जाँदा घटनास्थल भन्दा करिब २ सय मिटर तल तीनै जनाको शव फेला परेको कार्कीले बताए ।

 

अमेरिकाबाट दशैं–तिहार मनाउन आएका छोरा बुहारीमाथि खुकुरी प्रहार

काठमाडौं । अमेरिकाबाट दशैं–तिहार ममनाउन आएका छोरा बुहारीमाथि बाबुले खुकुरी प्रहार गरेका छन् । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५, थलीस्थित भीमबारी टोलमा बुधबार विहान यस्तो बाबुले छोरा–बुहारीमाथि खुकुरी प्रहार गरेका हुन् । ५३ वर्षीय विष्णु उप्रेतीले घरायसी विवादका क्रममा छोरा–बुहारीमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी प्रवक्ता एसपी पवन भट्टराईले जनाएका छन् ।

खुकुरी प्रहारबाट ३२ वर्षीय छोरा रुविस उप्रेती र बुहारी मनिता भण्डारी घाइते छन् । रुविसको बायाँ हातका चार औंला काटिनुका साथै दाहिने खुट्टाको घुँडामा चोट लागेको प्रहरीले जनाएको छ । बुहारी मनिताको दाहिने हातको कुममा चोट लागेको छ । आक्रमण गर्ने बुबा उप्रेती प्रहरी वृत्त, बौद्धअन्तर्गत गोकर्ण प्रभागको हिरासतमा छन् ।

कुटपिट गरी महिलाको हत्या, श्रीमान घाइते

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिट गरी एक महिलाको हत्या गरिएको छ । प्रहरीका अनुसार गए राति १२ बजे झडेवा बस्ने ३७ वर्षका मिनबहादुर विश्वकर्माले कुटपिट गरी ७६ वर्षीया फूलमाया जिसीको हत्या गरेका हुन् । विश्वकर्माको कुटपिटबाट फूलमायाका श्रीमान ८२ वर्षीय प्रेमबहादुर जिसी घाइते भएको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज पठाइएकामा थप उपचारका लागि लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक होमप्रकाश चौधरीले जानकारी दिए । गए राति १२ः३५ बजे प्रहरीलाई खबर आउना साथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले घटनामा संलग्न विश्वकर्मालाई पक्राउ गरेको हो । घरमै लुकिछिपी रहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो । कुटपिटमा धारिलो हतियार समेत प्रयोग भएको स्थानीयले बताएका छन् । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गायिकाको आत्मदाह प्रयासपछि गायक बाबुल गिरी प्रहरी नियन्त्रणमा

काठमाडौं । एक गायिकाले स्टुडियोमा आत्मदाह प्रयास गरेको घटनामा गायक तथा संगीतकार बाबुल गिरी (धनबहादुर) सोधपुछका का लागि जिल्ला प्रहरी परिसरमा राखिएका छन् । शनिबार दिउँसो अनामनगरस्थित गिरीको स्टुडियोमै शरीरमा आगो लगाएर गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेकी थिइन् । उक्त घटनामा गायक गिरी पनि सामान्य घाइते भएका छन् ।

गिरीलाई कीर्तिपुरस्थित बर्न अस्पतालले शनिबार नै डिस्चार्ज दिएको थियो । डिस्चार्ज लगत्तै केही सोधपुछका निम्ति भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनी अहिले पनि जिल्ला प्रहरी परिसर, भद्रकालीकै हाताभित्र रहेको प्रवक्ता एसपी पवन भट्टराईले जनाएका छन् । के कसरी घटना भएको हो भन्ने कुरा बुझ्नका निम्ति गिरीलाई नियन्त्रणमा लिइएको भट्टराईले जानकारी दिएका छन् । गिरीलाई म्याद थपेर मुद्दा चलाइहाल्नु पर्ने कुनै कारण नभएको उनले बताएका छन् ।

गायक बबुल गिरीको स्टुडियोमा युवतीद्वारा आत्मदाहको प्रयास

काठमाडौं । गायक बबुल गिरीको अनामनगरस्थित स्टुडियोमा एक युवतीले आत्मदाहको प्रयास गरेकी छन् । युवतीले आत्मदाहको गरेपछि प्रहरीले उद्धार गरेको छ । शनिबार दिउँसो स्टुडियोमै युवतीले आफूलाई जलाउनका लागि पेट्रोल खन्याएकी थिइन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार आगो लागेकै अवस्थामा प्रहरीले उनलाई उद्धार गरी कीर्तिपुरस्थित जलन उपचार अस्पताल लगेको छ । घटनाको कारण खोजी हुने र कोही दोषी भए कानूनी कारवाही हुने प्रवक्ता भट्टराईले जानकारी दिए ।

आत्मदाह प्रयास गर्ने अन्दाजी ३० वर्षीया युवती गायिका नितु पौडेल रहेको स्थानीयले जानकारी दिएका छन् । युवतीको स्थिति हालसम्म सामान्य रहेको छ । उनको साथमा गायक गिरी पनि अस्पताल जाँदैछन् ।

सुन पसलमा छापा हानेपछि जनकपुरमा तनाव, १० प्रहरी घाइते

जनकपुर । जनकपुरधाममा प्रहरी र स्थानीय सुनचाँदी व्यवसायीहरुबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले जनकपुरधामको सोनारपट्टीस्थित एक सुनचाँदी पसलमा छापा मार्न जाँदा विवाद भएको हो ।

जनकपुरधामको सोनारपट्टीमा संजय ठाकुरले नयाँ खोलेको ज्वेलर्समा गए राति प्रहरीले छापा मार्न पुगेपछि प्रहरी र व्यवसायीबीच झडप भएको हो । यस क्रममा सुनचाँदी व्यवसायी संघ जनकपुर र उद्योग वाणिज्य संघ जनकपुरधाम अध्यक्ष सुरेन्द्र भण्डारीसहितका सदस्यहरुले दिपावलीको मुखमा राति आएर यसरी छापा मार्न नहुने भन्दै प्रतिकार गरेका थिए ।

विवाद बढ्दै जाँदा प्रहरीले आश्रु ग्यास समेत चलाएको थियो । प्रहरीले व्यवसायीको पसलबाट सुनचाँदी बिना मुचुल्का लग्न खोजेको भन्दै व्यापार संघका अध्यक्षले रोक्न खोज्दा प्रहरी र व्यवसायीहरुबीच विवाद झन बल्झिएको थियो । घटनामा अध्यक्ष भण्डारीको टाउको फुटेको छ भने शरीरका अन्य भागहरुमा पनि चोट लागेको छ ।

उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । यता, व्यापार संघले राति नै विज्ञप्ति जारी गरी प्रहरीले गरेको क्रियाकलापको घोर भर्त्सना गरेको छ भने दोषीमाथि कारबाहीको माग गरेको छ । झडपमा १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी डिएसपी गणेशबहादुर बलमे जानकारी दिए ।

डिएसपी बमका अनुसार ज्वेलर्सबाट बिल विजक नभएको अन्दाजी ७ किलो चाँदी बरामद गरिएको छ । प्रहरी टोली डिएसपी बमकै कमाण्डमा पुगेको थियो । उनी अहिले जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यवाहक प्रमुखसमेत हुन् । धनुषाका एसपी नरहरी रेग्मीको सरुवा भएको छ । उनी बिहीबार नै हिँडिसकेका छन् । डिएसपी बम पनि धनुषामा सरुवा भएर आएको चार दिन मात्र भएको छ ।

धनुषा र रौतहटका एसपी हेरफेर

काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई जिल्लाका एसपी (प्रहरी उपरीक्षक) हरूको हेरफेर गरेको छ । मधेश प्रदेशका धनुषा र रौतहटका एसपीहरूलाई हेरफेर गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा नयाँ एसपीको रुपमा रुगम कुवँरलाई पठाइएको छ । कुँवर मानव बेचबिखन अनुसन्धान ब्यूरोमा कार्यरत थिए । यसअघि करिब ६ महिनादेखि धनुषाको एसपीको रूपमा नरहरि रेग्मी थिए । त्यस्तै रौततहटका एसपी नेत्रमणि गिरीको ठाउँमा पनि नयाँ एसपी रवीन कार्कीलाई पठाइएको छ । कार्की काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत थिए ।

खोलामा डुबेर एकै घरका दिदी–बहिनीसहित तीन बालिकाको मृत्यु

झापा । झापाको गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् । उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ । रासस

 

उद्योगको पर्खाल भत्किएर किच्दा तीनको मृत्यु, दुई जना घाइते

चितवन । पूर्वी चितवनको रत्ननगरस्थित किसान दाना उद्योगको पर्खाल भत्किँदा तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । रत्ननगर नगरपालिका–१२ शान्तिकुञ्ज टोलमा रहेको दानाको ४ नम्बर भित्तो बुधबार बिहान ९ः५० बजे भत्किएको हो । भित्तो भत्किँदा उद्योगमा काम गर्ने पाँच जना मजदुर घाइते भएका थिए । त्यसमध्ये तीन जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा खैरहनी नगरपालिका–२ का ४५ वर्षीय सुमरा दराई, गोरखा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ४५ वर्षीय रमेश दमाई र सोही स्थानका ४५ वर्षीय कमल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए । घाइतेको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको उनले बताए । घाइते हुनेमा पर्सा घर भई हाल रत्ननगर नगरपालिका–१२ बस्ने ३९ वर्षीय जीतेन्द्र महतो र ४० वर्षीय अकजप्रसाद थारु रहेका छन् । घाइते दुवैको सोही अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था मध्यम रहेको खनालले बताए ।

एकसाथ ६६५ इन्स्पेक्टरको सरूवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकसाथ ६६५ जना इन्स्पेक्टरको सरूवा गरेको छ । असोज २८ गते प्रहरी महानिरीक्षकको निर्णय अनुसार कात्तिक महिनादेखिको तलव भत्त समेत सरुवा भएको दरबन्दीबाट पाउने सूचनामा उल्लेख छ ।

अक्षयकुमार रावललाई उपत्यका सशस्त्र प्रहरी गणबाट इलाका प्रहरी कार्यालय बुटवल सरुवा गरिएको छ । त्यस्तै अच्युत गिरीलाई अपराध अनुसन्धान कार्यालय प्रबन्ध तथा भण्डार शाखाबाट इलाका प्रहरी कार्यालय मैनापोखर बर्दिया सरुवा गरिएको छ ।

हेर्नुस् सरुवा सूची

नेपालञ्जका होटलमा अनैतिक गतिविधि, प्रहरीले पक्रियो ४५ जना पक्राउ

नेपालगञ्ज । नेपालगञ्जका चार होटल तथा रेष्टुरेन्टमा प्रहरीले छापा हानेर ४५ जनालाई नियन्त्रणमा लिएको छ । ती होटल तथा रेष्टुरेन्टमा अनैतिक गतिविधि तथा कार्य भएको गुनासो आएपछि छुट्टाछुट्टै टोली बनाएर होटल तथा रेष्टुरेन्टमा छापा हानिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए ।

उनले होटेल तथा रेष्टुरेन्ट सञ्चालकलाई नियन्त्रणमा लिइएको उल्लेख गर्दै अनुसन्धान जारी रहेको बताए । प्रहरीले नेपालगञ्जको मिलन कटेज, भेरी कर्णाली होटल, रिभरसाइड र दङ्गाली होटलमा छापा मार्दा ३१ महिला र १४ पुरुष नियन्त्रणमा लिइएको जनाएको छ । पक्राउ पर्नेमा आठ जना भारतीय युवक समेत रहेका छन् ।

माटोको ढिस्कोमा पुरिएर बारामा दुई जनाकाे मृत्यु, चार जना गम्भीर (अपडेट)

बारा । बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ तिहारको तयारीको लागि माटो खन्ने क्रममा ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ ।

ढिस्कोमा पुरिएर अन्य चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार प्रादेशिक अस्पताल, कलैयामा भइरहेको छ। मृतक र घाइतेहरूको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा एक जना सिम्रौनगढ नगरपालिका–५ निवासी ६५ वर्षीया शारदा देवी रहेकी छन् ।

गम्भीर घाइतेहरूको नाम खुल्न सकेको छैन । उनका अनुसार घटनामा परी अन्य १० जना सामान्य घाइते भएका छन् । घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गरेका थिए ।

जेनजी आन्दोलनको एक महिना : प्रहरीका आठ सय बढी हतियार अझै बेपत्ता

काठमाडौं । भ्रष्टाचारविरुद्ध भदौ २३ र २४ गते सुरु भएको जेनजी आन्दोलनले मुलुकको राजनीतिक अवस्था नै फेरिदियो । ७३ जनाको ज्यान जाने गरी भएको हिंसात्मक आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्यो, संसद् विघटन भयो र गैरराजनीतिक व्यक्तिहरूले नेतृत्व सम्हाले ।

तर, आन्दोलनको एक महिना बितिसक्दा पनि त्यसले निम्त्याएको सुरक्षात्मक संकटको अवस्था अझै सुध्रिएको छैन । देशभरका प्रहरी इकाइबाट आन्दोलनकारीहरूले लुटेका करिब ११ सय हतियारमध्ये हालसम्म मात्र तीन सयभन्दा बढी फिर्ता भएका छन् । प्रहरीका अनुसार ८ सय बढी हतियार अझै बेपत्ता छन् ।

लुटिएका हतियार, जलाइएका भवनहरू
आन्दोलनको क्रममा आन्दोलनकारीहरूले प्रहरी कार्यालयहरूमा आगजनी गर्दै हतियार, बर्दी र अन्य सरकारी सामग्री लुटेका थिए । धेरैजसो घटना भिडियो र तस्वीरमा स्पष्ट रूपमा देखिएका छन् । सिंहदरबारदेखि लिएर स्थानीय प्रहरी चौकीसम्म जलेर खरानी भए ।
ती घटनामा तीन जना प्रहरीको ज्यान गएको थियो भने कयौं घाइते भए । केहीले त आत्मसमर्पण गरेर ज्यान जोगाउनु परेको थियो । अहिले पनि धेरै सुरक्षाकर्मीहरू हतियारविहीन अवस्थामा ड्युटीमा खटिन विवश छन् ।

राजनीतिक निर्देशनले अनुसन्धान रोकिएको प्रहरीको गुनासो
प्रहरीले फोटो, भिडियो र प्रत्यक्षदर्शीको आधारमा दोषी पहिचान गरी कारबाहीको तयारी गरे पनि गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशनले प्रक्रिया रोकिएको छ । गृह मन्त्रालयले सुशीला कार्की नेतृत्वको सरकारको आदेशअनुसार आन्दोलनकारीप्रति कडा कदम चाल्न रोक लगाएको छ । ‘आन्दोलनकारीहरूले प्रहरीलाई कुटेर मार्ने, खोलामा हाल्ने, सरकारी संरचना ध्वस्त पार्ने कार्यमा संलग्न भएको देखिए पनि तिनलाई कारबाही नगर्न भनिएको छ’, एक प्रहरी अधिकृतको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ ।

प्रहरी निरीह, सेवा खण्डहरबाट
आन्दोलनका क्रममा ध्वस्त भएका प्रहरी भवनहरूबाट नै अस्थायी रूपमा सेवा प्रवाह भइरहेको छ । आगजनी र तोडफोडका कारण भवनहरू प्रयोगविहीन छन् । यता सुरक्षा चुनौती बढिरहँदा प्रहरी हतियार बिनै गस्तीमा जान बाध्य छन् । प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार लुटिएका हतियार फिर्ता ल्याउने काम तीव्र रूपमा भइरहेको छ । सेनाले केही हतियार बरामद गरिसकेको छ भने प्रहरीले पनि केही पुनः प्राप्त गरेको छ । तर अझै ठूलो संख्या हराइरहेको उनले बताए ।

संवेदनशील सुरक्षा अवस्था र संस्थागत असर
प्रहरी संस्थामाथिको आघात मात्र नभई, राज्यको समग्र सुरक्षा संयन्त्रमै जेनजी आन्दोलनले गम्भीर असर पारेको छ । राजनीतिक नेतृत्वको स्पष्ट निर्देशन अभाव, दोषीलाई कारबाही नगर्ने नीति, र हतियार नियन्त्रणको असफलताले भावी सुरक्षा चुनौती बढाउने देखिन्छ ।
राजनीतिक विश्लेषकहरू यो अवस्थालाई गम्भीर रूपमा लिँदै आएका छन् । ‘यदि राज्यले यस्ता घटनामा संयम देखाउने नाममा कानूनी प्रक्रिया रोक्छ भने, त्यो अन्यायप्रतिको प्रोत्साहन र सुरक्षातन्त्रको विघटन हो’, एक विश्लेषकले बताए ।

 

गुडिरहेको माइक्रो बसभित्रै युवक मृत भेटिए

जुम्ला । जुम्लामा गुडिरहेको माइक्रो बसभित्रै एक युवक मृत भेटिएका छन् । बुधबार राति साढे ८ बजे हिमा गाउँपालिका–१, आर्चाय गाउँका २२ वर्षीय गणेश रावत गुडिरहेको गाडीभित्रै मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार ती युवक मुगुबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेश ०२००१ख ११८०० एसएलएम गाडीमा यात्रा गरिरहेका थिए । जुम्लाका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविनबाबु रेग्मीले घरमा ओर्लिनु पर्ने बेलामा हेर्दा युवक मृत भेटिएको बताए ।

उनले भने, ‘गाडी मुगुबाट सुर्खेत जाँदै रहेछ । गाडी सानो भएकाले धेरै जनाले यात्रा गरिरनु भएको भन्ने बुझिएको छ । मृतकले मादक पदार्थ सेवन गरेका रहेछन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।’

पोस्टमार्टमका लागि युवकको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा राखिएको छ । डीएसपी रेग्मीले मेडिकल रिपोर्ट आएपछि मात्र मृत्युको वास्तविक कारण थाहा पाइने बताएका छन् ।

सातदोबाटोका डीएसपी यादवको खोसियो जिम्मेवारी

काठमाडौं । प्रहरी वृत्त सातदोबाटो ललितपुरका डीएसपी रामकुमार यादवको जिम्मेवारी खोसिएको छ । सामान्यतया एक वर्षभन्दा अघि सरुवा नगर्ने चलन रहे पनि वृत्त प्रमुखको कमाण्ड सम्हालेको ६ महिनामै उनको जिम्मेवारी खोसिएको हो । यादवलाई काठमडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा तानिएको छ । यादवले प्रभावकारी काम गर्न नसकेको आरोप लगाइएको छ । उनको ठाउँमा जिल्ला प्रहरी परिसर काडमाडौंमा कार्यरत डीएसपी पूर्णिमा चन्दलाई पठाइएको छ ।

 

१८ प्रहरीलाई सात दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि सम्पर्कविहीन १८ जना प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन आग्रह गरेको छ ।

कानुन शाखामार्फत मंगलबार सार्वजनिक गरिएको सूचनामा ती प्रहरी कर्मचारीलाई तत्काल आफ्नो कार्यस्थलमा हाजिर हुन निर्देशन दिइएको हो । सूचनामा भनिएको छ, ‘आफूखुसी कार्यालयमा गैरहाजिर रही खोजतलास गर्दा समेत सम्पर्कमा नआएको र प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (२) अनुसार प्रक्रिया पूरा गरी सूचना टाँस गरिसक्दा पनि हाजिर नभएकाले यो सूचना प्रकाशित गरिएको हो ।’

प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर भई गैरहाजिरीको कारणसहित सन्तोषजनक स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएको छ । सूचनामा थप चेतावनी दिइएको छ कि तोकिएको म्यादभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावली अनुसार आवश्यक अनुशासनात्मक कारबाहीका साथै सेवाबाट हटाइने प्रक्रिया अघि बढाइनेछ ।

हेर्नुस् सूचना

दलित समुदायको घर भत्काएको आरोपमा वडाध्यक्ष पक्राउ

सिरहा । सिरहामा दलित सुमदायको घर भत्काइ दिएको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । कल्याणपुर नगरपालिका–८ का रामकिशोर यादव पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार पक्राउ परेको हो । वडाध्यक्षसहित १३ जनाविरूद्ध आपराधिक उपद्रवअन्तर्गत जाहेरी परेको जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी अनन्तराज शर्माले जानकारी दिए ।

उनका अनुसार सोमबारसम्म वडाध्यक्षसहित ३ जना पक्राउ परेका छन्। बाँकीको खोजी कार्य भइरहेको छ । दशैंमा दुर्गा पुजाको क्रममा सोही वडाका दलित समुदायसँग विवाद भएको थियो । त्यही बेलामा अनधिकृत जग्गा (ऐलानी) मा बसेका ४-५ वटा घर भत्काइ दिएको एसपी शर्माले बताए ।

‘तीन वटा घर पूर्णरूपमा क्षति पुगेका छन् भने २ वटामा आंशिक छ,’ उनले भने, ‘लुटपाट भएको भन्ने कुरा पनि आएको छ । हामी अनुसन्धान गरिरहेका छौं ।’ यस घटनाबारे पीडित पक्षसँग कुराकानी भइरहेको उनले जानकारी दिए ।

खुँडा प्रहार गरी आमाको हत्या

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा छोराले आमाको हत्या गरेका छन् । ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रहार गरी ५४ वर्षीय आमा राममाया कँडेलको हत्या गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका उपरीक्षक भेषराज रिजालका अनुसार यमबहादुर कँडेललाई पक्राउ गरी सदरमुकाम ल्याइएको छ । हिजो राति ९ बजे पक्राउ गरिएको हो ।

प्रहरी घटनास्थल पुग्दा आमाको हत्या गरी हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएको थियो । हतियार बोकेर बाहिर हिँडिरहेको यमबहादुर छिरेपछि उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक रिजालले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान शुरु भएको छ ।

‘गुण्डा नाइके’ सानुभाइ पक्राउ

काठमाडौं । ‘गुण्डा नाइके’ सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । विभिन्न व्यक्तिलाई धाकधम्की दिएको पाइएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले बताएका छन् ।

यसअघि उनी ठमेलस्थित क्लब ओम्नियाका सञ्चालक राजेन्द्र गुरुङमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका थिए । गुरुङ नुवाकोट ककनीका हुन् । पछिल्लो समय आफूलाई जेनजी भन्दै उनले केही व्यावसायिक व्यक्तिलाई धम्क्याएको सूचनापछि उनलाई प्रहरीले खोजी गरेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी जवान मध्यराति मृत भेटिए

डोटी । डोटीमा एक प्रहरी जवान मृत भेटिएका छन् । शुक्रबार मध्यरात जिल्लाको शिखर नगरपालिका–८ तिलताली घर भई नेपाल प्रहरीको जवान पदमा कार्यरत शंकर बलायर मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, डोटीले जानकारी दिएको छ ।

केआई सिंह राजमार्ग अन्तर्गत गोपघाट भन्ने ठाउँमा एक जना व्यक्ति लडेको भनी मध्यरात १२ः१५ बजे प्रहरीलाई सूचना आएपछि प्रहरी टोलीले उनलाई मृत अवस्थामा फेला पारेको हो । बलायरको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । बलायर नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारामा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए । उनी असोज ७ गतेदेखि लागु हुने गरी १८ दिनको बिदामा आएका थिए ।

 

पुलमुनि मोटरसाइकलसहित मृत्त भेटिए युवक

पर्सा । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरस्थित पुलमुनि शुक्रबार बिहान एक युवक मृत भेटिएका छन् । वडा नम्बर ३ को कार्यालयबाट करिब १०० मिटर पश्चिमतर्फ रहेको झलमहिया र भिस्वा जोड्ने सडकमा अवस्थित पुलमुनि खसेको अवस्थामा भारतीय नम्बर प्लेटको होण्डा साइन मोटरसाइकलसहित झलमहिया गाँउकै २८ वर्षीय रमेश साह कानु मृत अवस्थामा भेटिएका हुन् ।

पुलमुनिको पानीमा वीर आर २२ ए एल १२७३ नम्बरको मोटरसाइकलसँगै मृत भेटिएका ती युवकको मृत्युको यकिन कारण अहिलेसम्म खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।

घटनास्थल र शवको प्रकृति हेर्दा मोटरसाइकलसहित पुलमुनि खसेर युवकको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाई छ । घटनास्थलमा ईलाका प्रहरी कार्यालय पोखिरियाको प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले जानकारी दिए ।

प्रहरी महानिरीक्षक खापुङबाट बडादशैंको मौलो पूजा

काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बडादसैँका अवसरमा आज नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा संकल्प पूजा गरेका छन् ।

नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक खापुङले बलि पूजा गर्नुका साथै निसानमा पञ्जा छाप समेत लगाए । साथै प्रहरी महानिरीक्षक खापुङले मौलोपूजाका अवसरमा विशेषकार्य गर्ने प्रहरी नायब निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हबल्दार रामकुमार कार्कीलाई नगद पुरस्कार प्रदान गरे ।

सो अवसरमा प्रहरी महानिरीक्षक खापुङ, प्रहरी अतिरिक्त महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गरेका थिए । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहणसमेत गरिएको थियो ।

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । त्यसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बीचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपीठ र इष्ट देवताको प्रतिकका रूपमा निशान झण्डालाई लिइन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रहिआएको छ ।

नेपाल प्रहरीले विक्रम संवत् २०११ मा निशान झण्डा प्राप्त गरेपश्चात हरेक वर्ष बडादशैँ र चैते दशैँमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रहीआएअनुरूप आजै सम्पूर्ण प्रहरी एकाइमा समेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चारको मृत्यु, तीन जना घाइते

सर्लाही । सर्लाहीमा दशैंमा घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । सर्लाही जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्रकुमार खड्काले दिएको जानकारीअनुसार आज (बुधबार) बिहान सवा ९ बजेतिर हरिपूर्वा नगरपालिका–१ स्थित हर्दीखोला किनारमा माटो निकाल्ने क्रममा माथिबाट खसेको ढिस्कोमा पुरिएर चार जनाको मृत्यु भएको हो ।

ढिस्कोले पुर्दा महोत्तरी जिल्ला सोनमा गाउँपालिका ६ मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ९ वर्षीया नर्गिस खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ६ वर्षीया सविवा खातुनको मृत्यु भएको एसपी खड्काले बताए ।

‘अरु तीन जना घाइते पनि भएको जानकारी प्राप्त भएको छ तर डिटेल आइसकेको छैन’, उनले भने । उनका अनुसार चारै जनाको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटनास्थलमा प्रहरी पुगेर थप विवरण लिने काम गरिररहेको एसपी खड्काले बताए । घटनास्थल सर्लाही र महोत्तरीको सीमामा पर्छ ।

दशैंको मुखमा प्रधानाध्यापकले गरे श्रीमतीको हत्या

सुनसरी । सुनसरीमा एक महिलाको हत्या भएको छ । दशैंमा परिवारमा रमाइलो गर्दै बस्नु पर्ने बेला श्रीमती हत्याको आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन् ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको इटहरी उपमहानगरपालिका–२०, खनारस्थित आफ्नै घरमा मंगलबार झगडाका क्रममा प्रधानाध्यापक सुमन दाहालले पत्नी अनिशा भट्टराईको हत्या गरेका हुन् ।

दाहाल खोटाङ जिल्ला ऐसेलुखर्क गाउँपालिका–१, राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयका प्रधानाध्यापक हुन् । उनलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी केशवकुमार थेबेले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट श्रीमान–श्रीमतीबीच विवादका क्रममा उक्त घटना भएको देखिएको छ । पतिको कुटाइबाट अनिशाको मृत्यु भएको प्रहरीले जनाएको छ । भट्टराई इटहरीमा बसेर शिक्षक सेवा आयोगको तयारी गरिरहेकी थिइन् ।

प्रहरीका अनुसार पोस्टमार्टमका लागि शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । घटनाको पृष्ठभूमि र कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सडक सुरक्षा र शान्ति सुव्यवस्थाको जिम्मेवारीमा खटिएका प्रहरीलाई अपमानजनक शब्द प्रयोग गरेको आरोपमा सिन्धुली घर भई हाल काठमाडौं बबरमहल बसोबास गर्दै आएका ३६ वर्षीय नेवाङ तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार तामाङलाई बुद्धनगर क्षेत्रबाट पक्राउ गरिएको हो । कर्तव्य पालनामा तैनाथ प्रहरीलाई उनले अश्लील शब्द प्रयोग गर्दै गालीगलौज गरेका थिए । उनीमाथि थप अनुसन्धान अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनले सडकमा खटिएका प्रहरीमाथि अपशब्द बोलेको भिडियो भाइरल भएको थियो ।

प्रहरीको २७ ‘क्विक रेस्पोन्स टिम’ : २४ सै घण्टा सेवा

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले दशैंलगायतका चाडपर्व लक्षित कडा सुरक्षा योजना सार्वजनिक गरेको छ । बडादशैंदेखि दीपावली तथा छठ पर्वसम्मका चाडपर्वलाई लक्षित गरी प्रहरी परिसर भक्तपुरले क्विक रेस्पोन्स टिम परिचालन गरेको हो ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज रेग्मीले मुख्य बजार, चोक, संवेदनशिल क्षेत्र, मठमन्दिर, बैंक तथा वित्तीय सस्थाको सुरक्षाका लागि बेग्लै टोली र कुनै पनि घटनाको जानकारी प्राप्त भएको १० मिनेटमा प्रहरी पुग्ने गरी टोली परिचालन गरिएको जानकारी दिए ।

प्रहरील कुनै पनि सार्वजनिक स्थान, सार्वजनिक सवारी साधन, निजी आवास, व्यापारिकस्थल, बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल, आर्थिक कारोबार हुने स्थानहरुमा मानिसहरुको चहल पहल एवं आर्थिक कारोबार बढ्ने र त्यस्ता स्थलहरुमा चोरी, डकैती, लुटपाट, पाकेटमारा, सामाजिक सञ्जालमार्फत हुने विविध ठगी, अवैध रुपमा हुने मादक पदार्थ विक्री वितरण, सेवन गर्ने, झै–झगडा, लागु औषध, अपहरण, चन्दा असुली, फिरौती माग, मानव बेचबिखन तथा ओसारपसार, जुवातास लगायतका अपराधहरु नियन्त्रण गर्न युनिट बनाएर प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

वर्तमान परिस्थितिमा थप सुरक्षा चुनौती बढ्न गएको अवस्थालाई मध्यनजर गर्दै आम नागरिकहरुमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन २४सैं घण्टा जनस्तरसम्म सचेतना कार्यक्रम राखिएको उनको भनाइ छ । प्रहरी गस्ती, एम्बुसिङ, चेक प्वाइन्ट, पिकेट, सरप्राइज जाँचका लागि यस परिसर तथा मातहत प्रहरी इकाइमा उपलब्ध प्रहरी जनशक्ति तथा साधनस्रोतलाई उच्चतम प्रयोग एवं परिचालन गरी भरपर्दो तथा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ ।

प्रहरीले आफ्नो घर, टोल, छिमेकमा शंकास्पद गतिविधि भएको पाइएमा वा कुनै घटना भएमा तत्काल प्रहरीको १००, १०३ र जिल्ला प्रहरी परिसर भक्तपुरको सम्पर्क नम्बर ०१–६६१४७०८, ९८५१२८३०२०, ९८५१२९०९७६ मा तत्काल खबर गर्न अनुरोध समेत गरेको छ ।

युवाको पहलमा बिर्तामोडमा प्रहरी र ट्राफिक कार्यालय पुनर्निर्माण

बिर्तामोड । जेनजी आन्दोलनका क्रममा ध्वस्त बनेको झापाको बिर्तामोडस्थित प्रहरी कार्यालय र ट्राफिक कार्यालय पुनर्निर्माण गरिएको छ ।आज इलाका प्रहरी कार्यालय, अनारमुनिमा बसेको समन्वय बैठकले भवन सञ्चालनका लागि सम्पूर्ण तयारी पूरा भएको निष्कर्ष निकालेको हो ।

बैठकले आगामी दिनमा बिर्तामोड क्षेत्रको शान्ति–सुरक्षालाई सहज बनाउन नवनिर्मित कार्यालयबाट सेवा प्रारम्भ गर्ने निर्णय समेत गरेको छ ।
अभियानका अभियन्ता सजेस शिवाकोटी, पदम श्रेष्ठ, रमेश चौधरी, विपिन बजगाईलगायत स्थानीय युवाको सक्रिय पहलमा भवन पुनर्निर्माण सम्पन्न भएको हो ।

अनुगमनका क्रममा इलाका प्रहरी कार्यालय अनारमुनिका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) विजय श्रेष्ठ, प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायब उपरीक्षक गणेश पौडेललगायत सुरक्षाकर्मीको सहभागिता थियो । अनुगमनपछि डिएसपी श्रेष्ठले कार्यालय सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको बताए ।

भवन पुनर्निर्माणमा अनुमानित रु ९० लाख खर्च भइसकेको र अझै केही रकम खर्च गर्न बाँकी हुने अभियानका अभियन्ता विपिन बजगाईले बताए । उनका अनुसार स्थानीय तह, व्यापारी तथा आम नागरिकको आर्थिक–सामाजिक सहयोगले मात्र यो सम्भव भएको हो ।

ललितपुर प्रहरी परिसर प्रमुखमा एसएसपी बोगटी

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटी ललितपुर जिल्ला प्रहरी परिसरको प्रमुखको जिम्मेवारी सम्हाल्न आएका छन् ।प्रहरी प्रधान कार्यालयको आइतबारको पत्रअनुसार बोगटी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट सरुवा भई ललितपुर आएका हुन् ।

नियुक्तिपछि एसएसपी बोगटीले जिल्लाको शान्ति–सुरक्षा कायम राख्न र अपराध नियन्त्रणमा प्रभावकारी कदम चाल्न नेपाल प्रहरी कटिबद्ध रहने बताएका छन् ।

उनको सरुवासँगै जिल्ला प्रहरी परिसरमा आयोजित स्वागत कार्यक्रममा प्रहरी अधिकारीहरूले बोगटीको अनुभवले ललितपुरमा अपराध न्यूनीकरण र सुरक्षामा थप प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए ।

मोर्टरको तार जोड्दा करेन्ट लागेर श्रीमान–श्रीमतीकै मृत्यु

रुपन्देही । पानी तान्ने मोर्टरबाट करेन्ट लाग्दा रूपन्देहीको गैडहवामा एक दम्पतीको ज्यान गएको छ । गैडहवा गाउँपालिका–६ कानीजहवा निवासी ७५ वर्षीय रामरतन सैठवार र उनकी पत्नी ६८ वर्षीया अकालीसिंहको आज बिहान मृत्यु भएको हो । खेतमा लगाएको तरकारीमा सिँचाइका लागि मोर्टरबाट पानी तान्ने क्रममा उनीहरूको करेन्ट लागेर मृत्यु भएको हो ।

ह्याण्ड पाइपबाट पानी तान्न मोर्टरको तार जोड्दा करेन्ट लागेर दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सुरज कार्कीले जानकारी दिए । सुरूमा पत्नीलाई करेन्ट लागेको र छुटाउन जाँदा रामरतनलाई पनि करेन्टले भेटेको कार्कीले जानकारी दिए । मोटरको तार पावर सकेटमा जोड्ने टुपिन नहुँदा नाङ्गो तार जोड्ने क्रममा करेन्ट लागेको प्रहरीको भनाइ छ । दुवै जनाको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवा पठाइएको छ ।

महाराजगञ्जमा प्रहरीको हत्या आरोपमा काभ्रेका युवक पक्राउ

काठमाडौं । जेनजी आन्दोलनको क्रममा महाराजगञ्ज वृत्तका प्रहरीको हत्या आरोपमा एक युवक पक्राउ परेका छन् । काभ्रेपलान्चोकका २६ वर्षीय युवराज क्यापछाकीलाई पक्राउ गरेर अनुसन्धान थालिएको काठमाडौँ परिसरका एक अधिकारीले जानकारी दिए ।

सीसीटीभी र सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडिओका आधारमा प्रहरीले हत्यामा संलग्नहरूको पहिचान गरिसकेको जनाएको छ । तीमध्ये एक जनालाई पक्राउ गरेर कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाएको हो।

आन्दोलनका क्रममा तीन प्रहरीको हत्या भएको थियो । तीमध्ये दुई जना महाराजगञ्ज वृत्तका प्रहरी हुन् । महाराजगञ्ज वृत्तमा मिलन राम र उत्तम थापालाई आन्दोलनकारीले कुटपिट गरेर हत्या गरेका थिए । अरू २२ जनालाई भित्रै थुनेर आगो लगाइ दिए पनि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो ।

यस्तै अरू केही प्रहरीलाई पनि आन्दोलनकारीले कुटपिट गरेर घाइते बनाएका थिए । कोटेश्वर प्रभागमा कार्यरत सहायक हवल्दार अमृत गुरुङको पनि धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए । यी घटनामा संलग्नहरूको पनि पहिचान गरिसकेको प्रहरीको भनाइ छ । उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीको दाबी छ । यस्तै प्रहरीका हातहतियार लुटपाट गर्ने, पोसाक लुटपाट र आगजनी गर्नेहरूको पनि प्रहरीले खोजी गरिरहेको छ । आन्दोलनमा प्रहरीका एक हजार बढी हतियार लुटपाट भएका छन् ।