राष्ट्रिय युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प श्रेष्ठलाई


काठमाडौँ – नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी पुष्प श्रेष्ठलाई दिइएको छ । एमाले महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिवार साँझ चीनतर्फ प्रस्थान गरेको थियो । सो टोलीमा संगठनका अध्यक्ष क्षितिज थेबे पनि रहेकोले उनको जिम्मेवारी श्रेष्ठले सम्हालेका हुन् ।
पोखरेल नेतृत्वको टोलीमा पार्टीका केन्द्रीय सदस्यसहित २२ जना रहेका छन् । भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, अखिल नेपाल महिला सङ्घका अध्यक्ष दुकाभद्र हमाललगायत केन्द्रीय तहका नेता सहभागी छन् ।
भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य सहर छोङछिङ, बेइजिङ र छिङहाइको १३ दिनसम्म भ्रमण गर्नेछ । भ्रमणको बेला नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र एमाले चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुनेछ ।