तीज र दसैँ नेपालीको मौलिक र साझा पर्व : राप्रपा अध्यक्ष लिङ्देन


झापा, २९ भदौ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङ्देनले तीज र दसैँ सबै नेपालीको साझा र मौलिक पर्व भएको बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन मेचीनगरले आज धुलाबारीमा आयोजना गरेको तीज विशेष कार्यक्रममा उहाँले तीज, दसैँ लगायतका चाडपर्व कुनै जात र धर्म विशेषको नभएर साझा पर्व भएको बताउनुभयो ।
“तीज र दसैँ जस्ता चाडपर्व हिन्दूको मात्र हो भनेर अन्य जाति र समुदायलाई भड्काउने किसिमले दुष्प्रचार हुँदै आएको छ”, उहाँले भन्नुभयो, “यी चाडपर्व सदियौँदेखि सबै जातजाति र धर्मका नेपालीले मनाउने गरेका छन् । पछिल्लो समय दुष्प्रचार गरेर बाहुन र क्षेत्रीको मात्र हो, जनजातिको होइन भनेर बहिष्कार गर्ने गलत काम हुन थालेको छ ।”संसारमा सबैभन्दा धेरै हिन्दू भारतमा भएको जनाउँदै उहाँले भारतमा दसैँमा रातो टीका लगाउने चलन नभएको स्मरण गराउनुभयो । दसैँमा रातो टीका र जमरा लगाउने संस्कृति हाम्रो नेपालमा मात्र भएको हुँदा यसलाई नेपालीको साझा र मौलिक पर्व मानिएको उहाँको धारणा थियो ।राप्रपा अध्यक्ष लिङ्देनले राजनीतिक प्रसङ्गमा बोल्दै राप्रपालाई नवीन सोच र शैलीका साथ मुलुकको अग्रणी शक्तिका रूपमा स्थापित गरिने बताउनुभयो । उहाँले ठूला राजनीतिक दलले पुरानो व्यवस्था र राजसंस्थालाई गाली गरेर सत्ता सञ्चालन गरिरहेको र जनताले आर्थिक परिवर्तनको अनुभूति गर्न नपाएको जिकिर गर्नुभयो ।कार्यक्रममा कोेशी प्रदेशसभा सदस्य सविना बजगाईं, राप्रपाका केन्द्रीय सदस्य राजकुमार पोखरेल, जिल्ला अध्यक्ष केशवप्रसाद ओझा, सङ्गठनकी जिल्ला अध्यक्ष शारदा रिजाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।