`

प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच सरकारलाई प्रभावकारी बनाउनेबारे छलफल

Nepal One HD २० असोज २०८० १६:२९
प्रमुख खबर

काठमाडौ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज भएको भेटमा उनीहरुबीच सरकारको प्रभावकारिता, समाजवादी मोर्चाको अभियान, मुलुकको अर्थतन्त्र, संसद्को चालु अधिवेशन तथा संयुक्त राष्ट्र सङ्घका महासचिवको नेपाल भ्रमणलगायत विषयमा कुराकानी भएको थियो ।

भेटपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सरकारलाई प्रभावकारी बनाउनेलगायत समसामयिक विषयमा प्रधानमन्त्री दाहालसँग छलफल भएको जानकारी दिए । “सत्तारुढ दलहरुको बैठक बसेर सरकारलाई प्रभावकारी बनाउने, अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न विज्ञसँग छलफल गर्ने विषयमा कुराकानी भयो”, उनले भने ।

सत्ता गठबन्धनको बैठक बसेर दलका बीचमा विभिन्न मुद्दामा समान धारणा बनाउने विषयमा पनि छलफल भएको उनले जानकारी दिनुभयो । दुई पार्टीबीचका सम्बन्धलाई घनिभूत र बलियो बनाउने विषयमा पनि गम्भीर कुराकानी भएको उनले बताए । “प्रदेश, जिल्ला र तल्ला कमिटीसम्म दुई पार्टीबीचका सम्बन्धलाई प्रभावकारी बनाउने, गुनासा तथा समस्या समाधान गर्ने बारेमा कुराकानी भयो”, उनले भने ।


प्रतिक्रिया