आइसिसी टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात


काठमाडौ– आइसिसी टी–२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा नेपालले विजय िसुरुवात गरेको छ ।
आज कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरमाथि ८ विकेटको जित निकाल्दै नेपालले सुखद सुरूआत गरेको हो।
सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर भेट्टाएको हो । नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गर्दै ७४ रनको योगदान गरे । उनले ४८ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए ।
नेपालका अर्का ओपनर आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा नटआउट ३५ रन जोड्दा एक बल सामना गरेका कुशल मल्लले छक्का प्रहार गरे ।
त्यसअघि विहान टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन जाडेको थियो । नेपालले समूहको अन्तिम खेलमा बुधबार ओमानसँग खेल्नेछ । समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा जित हात पारे आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान पक्का हुनेछ ।