राष्ट्रिय सभामा रिक्त हुने सदस्यको निर्वाचन माघ ११ गर्न आयोगको सिफारिस


काठमाडौ– निर्वाचन आयोगले आगामी फागुन २० गते समाप्त हुने राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी माघ ११ गते बिहीबार गर्ने गरी मिति तोक्न सरकारसमक्ष सिफारिस गरेको छ । आज आयोगका पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर उक्त प्रस्ताव अघि सारेका हुन् । प्रधानमन्त्री दाहालले पनि आयोगको सिफारिस अनुसारकै मितिमै हुने गरी निर्वाचनको मिति तोक्ने उल्लेख गरेका छन् ।
नेपालको संविधानको धारा ८६ को उपधारा (३) बमोजिम राष्ट्रियसभाका एक तिहाई सदस्यको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको र राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले (माघ १५ गते सम्म) निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । आगामी फागुन २० गते निर्वाचित १९ र सरकारबाट मनोनित एक गरी २० सदस्यको पद रिक्त हुँदैछ ।
राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा रिक्त हुने एक तिहाइ सदस्य पदको निर्वाचन हुँदै आएको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजा बमोजिम राष्ट्रियसभा सदस्यको अब रिक्त हुने पदको निर्वाचनका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय भएको भइसकेको छ ।
निर्वाचन ऐन, २०७५ मा राष्ट्रियसभाको निर्वाचनमा प्रदेशसभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने निर्वाचक मण्डलकोे व्यवस्था रहेको छ ।