जिरोनासँग बार्सिलोना पराजित


काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत जिरोनाले बार्सिलोनामाथि शानदार जित हासिल गरेको छ । गएराति भएको खेलमा जिरोनाले बार्सिलोनालाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
जिरोनाको जितमा आर्टेम डोभबिक, मिगुएल गुटरेज, भलेरी फेर्नानडेज र क्रिस्टियन स्टुआनीले एक एक गोल गरेका थिए । बार्सिलोनाका लागि रोबेर्ट लेवानडोस्की र इके गुनडोगानले एक एक गोल गरेका थिए । १२ औं मिनेटमा आर्टेमले गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए । तर १९ औं मिनेटमा लेवानडोस्कीले गोल गरेपछि बार्सिलोनाले बराबरी गरेको थियो । ४० औं मिनेटमा जिरोनाले फेरि अग्रता बनायो । उसका गुटरेजले गोल गरेका थिए ।
८० औ मिनेटमा भलेरी फेर्नानडेजले गोल गरेपछि जिरोना ३(१ ले अघि बढेको थियो । दोस्रो हफको अतिरिक्त दोस्रो मिनेटमा गुनडोगानले गोल गरेपछि बार्सिलोनाले अन्तर ३ २ मा ल्याएको थियो । अतिरिक्त ५ औं मिनेटमा स्टुआनीले गोल गरेपछि जिरोना ४(२ को शानदार जित निकाल्न सफल भयो ।
जितपछि जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाको भने यो यस सिजनमा दोस्रो हार हो । १६ खेलमा ३४ अंक रहेको बार्सिलोना लिगको चौथो स्थानमा रहेको छ ।