निर्वाचनअघि शरिफलाई अर्को भ्रष्टाचार अपिल जित
पाकिस्तानको उच्च अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री नवाज शरिफको स्वनिर्वासनबाट फर्किएपछि दोस्रोपटक भ्रष्टाचारको सजायलाई खारेज गरेको छ । कारागारको सजाय भोगेर र राजनीतिबाट जीवनभरका लागि अयोग्य ठहरिएपछि उहाँ चार वर्षअघि बेलायतमा उपचार गर्नका लागि मुलुक छाड्नुभएको थियो ।
नवाज आगामी फेब्रुअरीमा हुने निर्वाचनमा उहाँको पाकिस्तान मुस्लिम लिग (नवाज) पिएमएल–एनको नेतृत्व गर्नका लागि अक्टोबरमा पाकिस्तान फर्किनुभएको थियो र अपिलको सुनुवाइभन्दा अघि उहाँलाई भ्रष्टाचारका धेरै मुद्दामा जमानत दिइएको छ ।
इस्लामाबाद उच्च अदालतको फैसला पुष्टि गर्दै उहाँका भाइ तथा पूर्वप्रधानमन्त्री शहबाज शरिफले भन्नुभयो, “बहालवाला प्रधानमन्त्रीलाई अयोग्य ठहर गर्नका लागि बनाइएको छलका मुद्दाहरू अन्ततः समाप्त हुँदैछन् ।” मुद्दा स्टिल कम्पनीहरूमा लगानीसँग सम्बन्धित हो । सोही अदालतले गत महिना नवाजलाई उहाँको परिवारले लन्डनमा महङ्गो फ्ल्याट खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा सफाइ दिएको थियो ।
आफ्नो आम्दानीको केही भागको घोषणा गर्न असफल भएकाले नवाजलाई अन्तिम पटक सन् २०१७ मा सर्वोच्च अदालतले पदबाट हटाउँदै राजनीतिबाट प्रतिबन्ध लगाएको थियो । यस वर्षको प्रारम्भमा शहबाज नेतृत्वको सरकारले सांसदहरूलाई अदालतबाट अयोग्य ठहराउने कानून पारित गरेको थियो ।
उक्त कानूनमा सांसदहरू पाँच वर्षसम्म मात्र अयोग्य ठहरिने व्यवस्था रहेको छ । यसबाट नवाजको फिर्तीको बाटो प्रशस्त भयो । पिएमएल–एनका वरिष्ठ पदाधिकारी ख्वाजा आसिफले नवाजविरुद्ध अब कुनै मुद्दा नभएको भन्दै मङ्गलबार सफाइ पाएपछि जनतामा उहाँको ‘प्रतिष्ठा पुनःस्थापित’ हुने बताउनुभयो । “जब मानिसहरू मतपेटिकामा जाँदा आजको निर्णयले धेरै फरक पार्नेछ”, उहाँले भन्नुभयो ।
