नेपाल सुपर लिगमा ललितपुर र झापाले अंक बाँडे


काठमाडौं । नेपाल सुपर लिगमा ललितपुर एफसी र झापा एफसीले अंक बाँडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै एक एक अंक बाँडेका हुन् । बराबरी पछि ललितपुरले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ भने झापाले तेस्रो स्थानमा मौका गुमाउन पुग्यो ।
ललितपुर १० अंकसहित तालिकाको दोस्रो स्थानमा यथावत रहँदा झापा भने ७ अंकसहित तालिकाको पाँचौं स्थानमा उक्लिएको छ । ललितपुरले सुरुमा आक्रामक खेलेको थियो ।
चौथो मिनेटमै दिनेश हेन्जनले ३० यार्ड टाढाबाट गरेको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो । नवौं मिनेटमा झापाले पाएको फ्रिकिक असरदार देखिएन । १७ औं मिनेटमा झापाका आवास लामिछानेले ललितपुरका निखिललाई फल गरेपछि ललितपुरले फ्रिकिक पाएको थियो । सोही बेला दुई टिमकाबीच केही तनाव देखिए पनि रेफ्रीले अवस्था सम्हालेका थिए ।
पहिलो हाफका अतिरिक्त समयमा पाएको झापाले फ्रिकिकलाई अवसरमा बदल्न सकेन । दोस्रो हाफको सुरुमै ललितपुरले आक्रामक देखिएको थियो । ललितपुर आक्रामक देखिए पनि दोस्रो हाफमा पनि कुनै गोल हुन नसक्दा दुवै टिमले एक एक अंकमा चित्त बुझाउँदै एनएसएलको ५० औं खेल पूरा भयो ।