विडिसिए कप क्रिकेटमा योंगस्टार मेलौलीद्वारा पाटन पराजित


बैतडी । २०औँ संस्करणको जिल्लास्तरीय बिडिसिए कप, एक दिवसीय क्रिकेट प्रतियोगितामा समूह डीको दोस्रो खेलमा योंगस्टार मेलौली विजयी भएको छ । मेलौलीले पाटन क्रिकेट क्लबलाई २ विकेटले पराजित गरेको हो । पाटनले दिएको एक सय ४० रनको लक्ष्य मेलौलीले ३१ ओभरमा ८ विकेटको क्षतिमा भेट्टायो ।
जसमा रामचन्द्र पोखरेलले २५ रनको योगदान गरे । पाटनका हेमन्त चन्द र विकास विष्टले ३/३ विकेट लिए । यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा पहिला ब्याटिङ गरेको पाटन ३० दशमलव ४ ओभरमा एक सय ३९ रनमा अलआउट भयो । सो क्रममा किशोर बयानी र हरिस केसीले समान २७ रन बनाए । मेलौलीका जयराम भट्टले ४ विकेट लिए । उनी खेलका म्यान अफ द म्याच पनि भए ।
बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १६ गतेदेखि सुरू भएको प्रतियोगितामा १३ टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी हुने १३ टोलीलाई चार समूहमा विभाजन गरी खेल भइरहेका बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए ।
यो वर्ष ‘बिडिसिए कप वान डे फम्र्याट’मा भइरहेको बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ । विगत वर्षमा टी–२० फम्र्याटमा सञ्चालन हुँदै आएको प्रतियोगिता यो वर्ष ५० ओभरमा भइरहेको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव सिद्धराज बोगटीले बताए ।
प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।
प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ । यसअघि १९औंँ संस्करणको उपाधि पञ्चकोटी क्रिकेट क्लबलाई १२९ रनले स्तब्ध पार्दै निङ्लाशैनी क्रिकेट क्लबले हात पारेको थियो । यस प्रतियोगितालाई प्रधानमन्त्री कप एक दिवसीय छनोटका रूपमासमेत लिइएको छ ।