पोखरा र धनगढीको खेल बराबरीमा


काठमाडौं । पोखरा थन्डर्स शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिगको क्वालिफायरमा पुगेको छ । शुक्रबार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा पोखराले धनगढी एफसीसँग १–१ गोलको बराबरी खेल्यो ।
धनगढीका मिलन राईले खेलको ४२ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर धनगढीले अग्रता जोगाउन सकेन । खेलको इन्ज्युरी समयमा पोखराका मोसेस ग्याबाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।
यो बराबरीसँगै पोखराले ८ खेलमा १५ अङ्क जोडेको छ । धनगढी ८ खेलमा १३ अङ्कसहित दोस्रो स्थानमा छ । धनगढीले उपविजेता बन्दै क्वालिफायर खेल्ने सम्भावना छ तर उसले अरू खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ ।
ललितपुर सिटी एफसी, झापा एफसी, काठमाण्डौ रेजर्स एफसी र वीरगञ्ज युनाइटेड एफसी मध्येका २ वटा टोली प्लेअफको दौडमा छन् । एनएसएलमा तालिकाको शीर्ष २ वटा टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् ।
क्वालिफायरमा हार्ने टोलीले तालिकाको तेस्रो र चौथो स्थानको टोलीबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने मौका पाउने छ ।