`

पोखरालाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी नेपाल सुपर लिगको फाइनलमा

Nepal One HD ९ पुष २०८० २१:१२
खेलकुद

काठमाडौं । पोखरा थन्डर्सलाई पेनाल्टी शुटआउटमा हराउँदै धनगढी दोस्रो संस्करणको एफसी नेपाल सुपर लिग को फाइनलमा पुगेको छ । सोमवार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा पोखरालाई पेनाल्टी शुटआउटमा ४–३ गोलले हराउँदै धनगढी फाइनलमा पुगेको हो ।

धनगढी लगातार दोस्रो पटक फाइनलमा पुगेको हो । धनगढी पहिलो संस्करणमा फाइनलमा काठमाडौं रेजर्ससँग पराजित हुँदै उपविजेता बनेको थियो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा पोखरा र धनगढीले १–१ गोल गर्दै खेल २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।

खेलको ५ औँ मिनेटमा पोखराका आयुष घलानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ५४ औँ मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै धनगढीलाई खेलमा फर्काए । त्यसपछि निर्धारित ९० मिनेटमा थप गोल हुन नसकेपछि खेलमा ३० मिनेट अतिरिक्त समय थप भएको थियो । खेलको १०२ औँ मिनेटमा स्टेफेन कोजोले गोल गर्दै पोखरालाई फेरि अग्रता दिलाए ।

तर अतिरिक्त समयको अन्तिम मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गरेपछि खेल पेनाल्टी शुटआउटमा गएको थियो । यो खेल हारे पनि पोखराले फाइनल पुग्न अर्काे मौका पाउनेछ ।

अब पोखराले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीचको खेलको विजेतासँग खेल्नेछ । काठमाडौं र ललितपुरबीचको खेल मङ्गलबार हुनेछ । यस्तै दोस्रो क्वालिफायर बिहीबार हुनेछ ।


प्रतिक्रिया