नेपाल सुपर लिगमा ललितपुरद्वारा काठमाडौं पराजित


काठमाडौं । ललितपुर सिटी एफसी काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग एनएसएलको दोस्रो क्वालिफयरमा पुगेको छ । ललितपुरले मंगलबार भएको इलिमिनेटरमा १० खेलाडीमा सीमित भएको गत संस्करणको च्याम्पियन काठमाडौं रेजर्सलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा पोखरासँगको भेट पक्का गरेको हो ।
ललितपुरलाई जित दिलाउन इमोह इजिकेइलले दुई तथा पापा इबाउ केबेले एक गोल गरे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ३६ औं मिनेटमा ललितपुरले काठमाडौंविरुद्ध अग्रता लिएको थियो ।
ललितपुरका लागि इमोह इजेकेलले गोल गरेका हुन् । उनले पापा इबोउ केबेले गरेको प्रहारलाई काठमाडौंका गोलरक्षक अन्जल महर्जनले पूर्णरुपमा क्लियर गर्न नसक्दा रिबाउन्डमा आएको बलमा बक्सभित्र अनमार्क रहेका इजेकेलले गोलको दिशा दिएका हुन् ।
खेलको ४४ औं मिनेटमा ललितपुरले अग्रतालाई दोब्बर बनायो । पापा इबोउ केबेले गोल गरेका हुन् । पहिलो हाफमा नै काठमाडौं विरुद्ध दुई गोलको अग्रता बनाएको ललितपुरले दोस्रो हाफमा थप एक गोल गर्यो ।
खेलको ५३ औं मिनेटमा ललितपुरले तेस्रो गोल गर्यो । इमोह इजकेलले ललितपुरका लागि खेलको तेस्रो तथा ब्यक्तिगत दोस्रो गोल गरे । निखिल कदमको फ्रिकिकमा इमोहले हेडमार्फत गोल गरेका हुन् । खेलको ७४ औं मिनेटमा काठमाडौं दश खेलाडीमा सिमित भयो । ललितपुरविरुद्धको खेलका लागि काठमाडौंका कप्तान समेत रहेका अन्जन राईले दोहोरो पहेंलो कार्ड पाउँदै मैदान छाडेका थिए । त्यसपछि काठमाडौंको कप्तानी राजिव लोप्चनले सम्हालेका थिए ।
ललितपुरले एनएसएलमा काठमाडौंविरुद्ध चौथो खेलमा आएर गोल गर्दै जित निकालेको हो । यसअघि खेलेका तीन खेलमा ललितपुर काठमाडौंसँग पराजित भएको थियो ।
ललितपुरले अब बिहीबार फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा पोखरा थन्डर्ससँग खेल्ने छ । पोखरा सोमबार भएको पहिलो क्वालिफायरमा धनगढी एफसीसँग पेनाल्टीमा ४–३ गोलले पराजित हुँदा फाइनलका लागि दोस्रो क्वालिफायर खेल्नु पर्ने भएको हो ।