`

बर्षान्त २०२३ : सन् २०२३ लाई फर्केर हेर्दा

Nepal One HD १५ पुष २०८० १८:४८
विश्व

अव्यवस्थाका शक्तिहरू बलियो हुँदै जाँदा यो वर्ष विश्व परिदृश्यमा एक कठिन वर्ष भएको छ । पूराना युद्धहरू जारी छन् भने यो बर्ष केहीे नयाँ मुलुकले पनि युद्धको सामना गर्नुपरेको छ ।

भू–राजनीतिक प्रतिस्पर्धा बढ्दै जाँदा प्रतिद्वन्द्वी राष्ट्रप्रमुखहरूबीचको बैठक पहिलो पृष्ठको समाचार बन्यो । यद्यपि उनीहरूको वार्ताले थोरै ठोस प्रगति हासिल ग¥यो । समग्रमा भन्ने हो भने, सुसमाचारको अभाव भएको छ ।

-अन्तरिक्षसम्बन्धी नयाँ कीर्तिमान राख्ने दौड-यो बर्ष अन्तरिक्ष दौड तातेको देखियो । विश्वका शक्ति राष्ट्रहरूले र कम्पनीहरूले अन्तरिक्षमा नयाँ नयाँ रेकर्ड कायम गर्नेतर्फ आफ्नो आँखा लगाएका छन् । दौडमा बाजी जित्ने होड चलिरहेको छ । विश्वका सत्तरी देशहरूमा अन्तरिक्ष अध्ययनसम्बन्धी निकाय स्थपना भएका छन् भने सोह्र देशले अन्तरिक्षमा यान प्रक्षेपण गर्न सक्छन् । अन्तरिक्ष दौडमा यो बर्ष चन्द्रमा विशेष चासोको विषय बनेको छ । गत अगष्टमा रूसको ल्यान्डर चन्द्रमाको सतहमा ठोक्किएपछि रूसको चन्द्रमाको पछिल्लो अभियान निराशाजनक बनेको थियो ।

त्यसको केही दिनपछि भारत चन्द्रमामा मानवरहित यान अवतरण गर्ने चौथो देश बनेको थियो भने चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा मानवरहित यान अवतरण गर्ने पहिलो देश बनेको थियो । त्यसको दुई हप्तापछि भारतले सूर्यको अध्ययन गर्ने अभियान चलायो । नासाले सन् २०२५ सम्ममा अन्तरिक्ष यात्रीलाई चन्द्रमामा फर्काउने लक्ष्य राखेको छ । यी र अन्तरिक्षसँग सम्बन्धित अन्य प्रयासहरूले भूराजनीतिक प्रतिद्वन्द्विताले अन्तरिक्षको सैन्यीकरण निम्त्याउने छ कि भन्ने चिन्तालाई बढावा दिइरहेको छ ।

–एआईको प्रयोग र बिस्तारमा तीब्रता–आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास मानव समुदायका लागि मौका र चुनौतीका रूपमा देखिएको छ । यसको विकाससँगै विस्तार र रोक लगाउनुपर्ने स्वरहरू गुन्जिन थालिसकेका छन् । सन् २०२३ मा च्याटजीपीटीको नवीनतम संस्करण यसको पूर्ववर्तीको तुलनामा दस गुणा बढी उन्नत बनेर फैलियो । सरकारहरू, कम्पनीहरू र व्यक्तिहरू यसको क्षमताको दोहन गर्न द्रुत गतिमा अघि बढे । यसले आर्टिफिसियल इन्टेलिजेन्सले मानव सिर्जनशीलता र समृद्धिको नयाँ युगको सुरुवात गरिरहेको छ वा भयानक भविष्य निर्माण गर्ने पान्डोराको बाकस खोल्दैछ भन्ने विषयमा चर्को बहस सुरु गरेको थियो ।

आशावादीहरूले कसरी एआईले विभिन्न क्षेत्रहरूमा अभूतपूर्व गतिमा वैज्ञानिक सफलताहरू फैलाइरहेको छ, औषधिहरूको द्रुत अनुसन्धान सक्षम पार्दै, चिकित्सा क्षेत्रका रहस्यहरूलाई खोलिदिएको छ र नसुल्झिने गणितीय समस्याहरू समाधान गरिरहेको छ भनेर औंल्याए । आलोचकहरूले यो प्रविधि मानवको क्षमताभन्दा छिटो विकास भइरहेको र यसले निम्त्याउन सक्ने हानिको आँकलन र न्यूनीकरण गर्न सक्ने बताएका छन् । यसले व्यापक बेरोजगारी सिर्जना गरिरहेको, विद्यमान सामाजिक असमानताहरूलाई कडा पारिरहेको, मानवताको लोप हुनुमा मलजल गरिरहेको दावी गरेका छन् । बहस जारी छ र अझै केही बर्ष लम्बिने छ ।

–जलवायु परिवर्तनबारे विश्व बहस– संयुक्त अरब इमिरेट्स (युएई) मा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा अधिकांश देश नवीकरणीय र हरित ऊर्जा उत्पादनलाई बढावा दिँदै जीवाश्म इन्धनको प्रयोगलाई न्यून गर्दै जाने सहमति भएको छ । कोप–२८ मा हालसम्म गरिएका प्रतिबद्धताले सन् २०३० सम्ममा हरितगृह ग्यास उत्सर्जनमा कमी गर्न आवश्यक पर्ने कार्यमा ३० प्रतिशतले मात्र कमी ल्याउने छ । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन नियन्त्रणसम्बन्धी निकायका अनुसार नवीकरणीय ऊर्जा र ऊर्जा दक्षतासम्बन्धी प्रतिबद्धतामा १३० देशले हस्ताक्षर गरेका छन् । विश्वको सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जन चीन, विकासशील भारत र प्रमुख ऊर्जा निर्यातकर्ता साउदी अरब र रूसले सम्झौतामा हस्ताक्षर गरेका छैनन् । नवीकरणीय ऊर्जा प्रतिवद्धतापत्रमा २०३० सम्म ११ हजार गिगावाट हरित ऊर्जा क्षमता पु¥याउने लक्ष्य राखिएको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले २०२२–२०२७ बीचमा नवीकरणीय ऊर्जाले विश्वको ऊर्जा क्षमतामा ९० प्रतिशतभन्दा विस्तार हुने जनाएको छ ।

नवीकरणीय ऊर्जाको बढोत्तरी गर्दै गएर सन् २०५० सम्म शून्य कार्बन उत्सर्जनको नीतिलाई व्यावहारिक रूपमा लागू गर्नसमेत कोप–२८ मासहभागी राष्ट्र तयार देखिएका छन् । नवीकरणीय ऊर्जा करिब २४०० गिगावाट हुनेछ, यो भनेको चीनले आज उत्पादन गरेको सम्पूर्ण ऊर्जा क्षमता हो । हिजो जीवाश्म इन्धनको अत्यधिक उपयोग गर्ने चीन, युरोपेली सङ्घ, अमेरिका, भारतले हालको नीति र बजारमा परिवर्तन गरेका कारण यो सम्भावना बढेको ऊर्जाविद्हरु बताउँछन् ।

–जनसङ्ख्यामा चीनविरूद्ध भारतको बाजी–भारत चीनलाई उछिनेर विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा स्थापित भएको छ । पछिल्लो शताब्दीमा चीन विश्वको सबैभन्दा धेरैे जनसङ्ख्या भएको देश रहेको थियो । अहिले भारतको जनसङ्ख्या एक अर्ब ४३ करोड रहेको अनुमान गरिएको छ । सम्भवतः भारत यो शताव्दीको दशकौंसम्म सबैभन्दा बढी जनसङ्ख्या भएको देश रहिरहनेछ । चीनको जनसङ्ख्या भने घट्दै गएको र पाका उमेरका नागरिकको सङ्ख्या बढ्दो देखिएको छ । जनसांख्यिकीविद्हरूका अनुसार शताब्दीको मध्यसम्ममा चीनको जनसङ्ख्या १० करोडले घट्नेछ वा अहिले संसारका पन्ध्र बाहेक सबै देशको जनसंख्याभन्दा बढी हुनेछ । सोही अवधिमा चीनको औसत आयु ३९ वर्षबाट बढेर ५१ वर्ष पुग्नेछ । यसबीच भारतको जनसंख्या मध्य शताब्दीसम्ममा करिब १.७ अर्ब पुग्ने छ र यसको औसत आयु ३९ वर्ष हुनेछ ।

सुडान गृहयुद्ध– सन् २०२३ मा गृहयुद्धले सुडानलाई तहसनहस बनायो । सुडानमा प्रजातन्त्र आएको वर्षका रूपमा सन् २०२३ लाई घोषणा गरिएको थियो । सुडानी जनताले बरु गृहयुद्धको सामना गरे । सन् २०१९ को अप्रिलमा सुडानको सेनाले लामो समयदेखि तानाशाह ओमार अल बशीरलाई सत्ताच्युत गर्न गरेको प्रदर्शनमा यो द्वन्द्वको जरा गाडेको थियो । नयाँ सैन्य जुन्टाले नागरिक समूहहरूसँग सत्ता साझेदारी गर्न र चुनावको दिशामा काम गर्न एक सम्झौता गरेको छ । यद्यपि, अक्टोबर २०२१ मा सुडानी सशस्त्र बल (एसएएफ) का प्रमुख अब्देल फतह अल–बुरहान र ¥यापिड सपोर्ट फोर्सेज (आरएसएफ) लडाकू समूहका प्रमुख मोहम्मद हमदान “हेमदती“ डग्लोले अर्को विद्रोहको नेतृत्व गरे ।

–युक्रेन युद्ध– सन् २०२३ को सुरुमा युक्रेनी प्रतिआक्रमणले पूर्वी युक्रेन र सम्भवतः क्रिमियामा रुसको पकड तोड्न सक्ने आशा उच्च थियो । बहुप्रतिक्षित प्रतिआक्रमण जुनको सुरुमा सुरु भएको थियो । रूसी सेनालाई ठूलो क्षति पु¥याए तापनि युद्धरेखाहरू मुस्किलले हल्लिएका थिए । रूसी सेनाले जाडो र वसन्त ऋतुलाई प्रयोग गरेर शक्तिशाली प्रतिरक्षा तयार पारेको थियो । नोभेम्बरको सुरुमा युक्रेनका शीर्ष जनरलले यो लडाइँलाई ‘गतिरोध’ को संज्ञा दिएका थिए र ‘सम्भवतः कुनै गहिरो र सुन्दर सफलता प्राप्त हुने छैन’ भनी स्वीकारेका थिए ।


प्रतिक्रिया