टी–२० विश्वकप तयारीका लागि सरकारले क्रिकेट टिमलाई दियो ५ करोड


काठमाडौ । आइसिसी पुरुष टी–२० विश्वकप तयारीका लागि नेपाली क्रिकेट टिमलाई अर्थ मन्त्रालयबाट ५ करोड रुपैयाँ निकासा भएको छ । विश्वकप तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो । सोही बमोजिम सरकारले रकम निकासा गरेको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिँदै सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिएका छन् ।
नेपाली टोली विश्वकपमा पुगपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए । नेपालमा अमेरिका र वेस्ट इन्डिजमा जुन १ तारिखदेखि सुरु हुने आईसीसी पुरुष टी–२० विश्वकप खेल्नेछ । नेपाल टी–२० विश्वकपमा समूह डी मा छ । यस समूहमा नेपालले बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।