निर्वाचनको दिन पुटिन विरुद्ध प्रदर्शन गर्न युलिया नभाल्नायाको आह्वान


रुसी विपक्षी नेता एलेक्सी नभाल्नीकी विधवाले बुधबार रुसीहरूसमक्ष मतदान केन्द्रहरूबाहिर लामो लाइन बनाएर राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध निर्वाचनका दिन विरोध प्रदर्शन गर्न आह्वान गर्नुभएको छ ।
युलिया नभाल्नायाले गत महिना आर्कटिक कारागार कोलोनीमा आफ्ना पतिको स्तब्धकारी मृत्युपछि उहाँको काम र क्रेमलिनको विरोधलाई जारी राख्ने प्रतिज्ञा गर्नुभएको छ ।
बुधबार प्रकाशित एक युट्यब भिडियोमा नभाल्नायाले यसै महिना राष्ट्रव्यापी मतदानमा मतदान केन्द्रहरूलाई अत्यधिक भिड बनाउने प्रयास गर्ने पहलको समर्थन गर्नुभयो । मतदानबाट पुटिनलाई राष्ट्रपतिका रूपमा अर्को छ वर्षको कार्यकाल सुरक्षित हुनेछ ।
“हामी यहाँ छौँ र हामी धेरै छौँ भनेर देखाउन निर्वाचनको दिन प्रयोग गर्न आवश्यक छ”, नभाल्नायाले भन्नुभयो, “हामीले मार्च १७ तारिख १२ः०० बजे एक दिन एउटै समयमा मतदान केन्द्रमा जानुपर्छ, अब के गर्ने ? तपाईं छनोट गर्न सक्नुहन्छ, तपाईं पुटिनलाई छाडेर कुनै पनि उम्मेदवारलाई मत दिन सक्नुहुन्छ, तपाईं आफ्नो मतपत्र बिगार्न सक्नुहुन्छ, तपाईंले ठूलो अक्षरमा ‘नभाल्नी’ लेख्न सक्नुहुन्छ ।”
उहाँले आगामी राष्ट्रपति निर्वाचनलाई ‘बनावटी’ भन्नुभयो । पुटिनले ‘आफूले चाहेको परिणाम निकाल्ने’ तर मतदानका दिन विपक्षीहरूको दृश्य प्रदर्शनले क्रेमलिनलाई डराउन सक्ने उहाँको भनाइ थियो । नभाल्नी आफैँले पनि मर्नुअघि कारागारबाट आफ्नो अन्तिम पोस्टमा उक्त प्रस्तावको समर्थन गर्नुभएको थियो । यसलाई आयोजकहरूले ‘पुटिनविरुद्ध मध्याह्न’ भनेका छन् ।
पहलका समर्थकहरूले यो रुसीहरूका लागि क्रेमलिनविरुद्ध विरोध गर्ने कानूनी र सुरक्षित तरिका हुने आशा गरेका छन् । रुसमा सरकारविरोधी सडक जुलुस र प्रदर्शन प्रभावकारीरूपमा गैरकानूनी छ र आयोजक तथा सहभागीहरूलाई वर्षौंको कारागार सजाय हुनसक्छ ।