धोनीद्वारा चेन्नाई फ्रेन्चाइजीको कप्तानबाट राजीनामा


पाँच पटकको इन्डियन प्रिमियर लिग (आइपिएल) च्याम्पियन चेन्नाई सुपर किङ्ग्स (सिएसके) ले आइपिएल २०२४ को आगामी सिजनअघि बिहीबार स्टार ओपनर ऋतुराज गायकवाडलाई टिमको नयाँ कप्तान घोषणा गरेको छ ।
यो निर्णयले सिएसकेको नेतृत्वमा रहेको एमएस धोनीको लामो शासनको अन्त्यको सङ्केत गर्दछ । आफ्नो नेतृत्वमा धोनीले पाँच वटा आइपिएल दिलाउनुभएको छ ।
“एमएस धोनीले आइपिएल २०२४ सुरु हुनुअघि सिएसकेको कप्तानी ब्याट्सम्यान ऋतुराज गायकवाडलाई हस्तान्तरण गर्नुभयो, ऋतुराज सन् २०१९ देखि सिएसकेका अभिन्न अङ्ग हुनुहुन्छ र उहाँले यस अवधिमा आइपिएलमा ५२ खेल खेल्नुभएको छ”, सिएसकेले बिहीबार आधिकारिक विज्ञप्तिमार्फत भनेको छ ।
धोनीले २१२ आइपिएल खेलमा सिएसकेको नेतृत्व गर्नुभयो । यसमा १२८ खेलमा जित र ८२ मा पराजित हुनुभयो । सन् २००७ को टि–२० विश्वकप, सन् २०११ को एकदिवसीय विश्वकप र सन् २०१३ मा च्याम्पियन्स ट्रफीमा टिमलाई उपाधि दिलाएपछि धोनीले सन् २०२० अगस्ट १५ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्नुभयो ।
गत वर्ष धोनीको नेतृत्वमा अहमदाबादमा गुजरात टाइटन्सविरुद्ध चेन्नाई फ्रेन्चाइजीले कीर्तिमानी पाँचौँ आइपिएल उपाधि जितेको थियो । बयालिस वर्षीय धोनी भारतीय क्रिकेटका सबैभन्दा प्रशंसित अनुहारमध्ये एक हुनुहुन्छ र वर्तमान केही क्रिकेट स्टारका तुलनामा प्रशंसकहरूबाट आनन्द लिइरहनुभएको छ । सन् २००८ मा आइपिएलको उद्घाटन सत्रदेखि नै उहाँले चेन्नाईको कप्तानी गर्नुभएको छ ।
उहाँले सन् २०२२ सिजनको प्रारम्भमा स्टार अलराउन्डर रवीन्द्र जडेजालाई कप्तानी हस्तान्तरण गर्नुभएको थियो तर सिजनको मात्र आठ खेलपछि पुनः फ्रेन्चाइजीको नेतृत्व गर्नुभयो ।