`

दुर्गा प्रसाईंका अंगरक्षकले बोकेका हतियारबारे छानबिन गर्न सर्वोच्चको आदेश

Nepal One HD १३ चैत २०८० १९:४८
समाचार

काठमाडौँ । सर्वोच्च अदालतको मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षकको साथबाट बरामद हतियारबारे छानबिन गर्न आदेश दिएको छ । मंगलबार न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारबारे छानबिन गर्न आदेश दिएको छ ।

अदालतले प्रसाईंका अंगरक्षकहरू दीपक खड्का र रामकुमार धिमाललाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । उनीहरु चैत ५ मा सर्वोच्च प्रवेश गर्ने क्रममा पक्राउ परेका थिए । खड्का र धिमाललाई प्रहरीले सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा जाँच गर्दा हतियार भेटिएपछि पक्राउ गरेको थियो ।जर्मनीमा बनेको स्वचालित हतियार र त्यसमा लाग्ने १०० थान गोलीका साथै चार थान म्यागेजिन बरामद गरेको थियो । सर्वोच्चले इजाजतपत्र दिन नहुने हतियार बोक्नका लागि इजाजत दिएको विषयमा भने छानबिन गर्न आदेश दिएको छ ।आदेशमा भनिएको छ, ’मुलुकी अपराध संहिता, २०७४ को दफा १३१ को उपदफा (१) मा खास किसिमका हातहतियार प्राप्त गर्न नहुने शीर्षकअन्तर्गत देहाय (घ) मा जुनसुकै प्रकारको राईफल तथा त्यसको खरखजाना समावेश गरी त्यस्ता हतियार राखे इजाजत प्राप्त गर्न नसकिने गरी नकारात्मक सूची राखेको देखिएकोमा सुरक्षा निकायका अधिकारी बाहेक सर्वसाधरण नागरिकले बरामद भएको वर्गको हतियार राख्न इजाजत प्राप्त गर्न नै नसक्ने स्थिति देखिएकोमा इजाजतपत्रवाला दुर्गाप्रसाद प्रसाईंले जिल्ला प्रशासन कार्यालय झापाबाट उक्त हतियार राख्न पाउने गरी लिएको इजाजतपत्र मिति २०७१।०९।०७ मा के कसरी नविकरण भएको हो ?’


प्रतिक्रिया