राष्ट्रिय खो खो प्रतियोगिता यसै सातादेखि


काठमाडौँ- नेपाल खोखो सङ्घको आयोजना तथा सुदुरपश्चिम प्रदेश खोखो सङ्घको सहआयोजनामा प्रथम यु–२१ राष्ट्रिय पुरुष तथा महिला खो खो प्रतियोगिता यसै सातादेखि हुने भएको छ ।यही चैत २४ देखि २७ गतेसम्म उक्त प्रतियोगिता कैलालीको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीस्थित त्रिभुवन माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने यहाँ आयोजित पत्रकार सम्मेलनमा नेपाल खोखो सङ्घका अध्यक्ष प्रदिप महर्जनले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका महिला तथा पुरुष टोलीका एक सय ४४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
लिग कम नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुने टोलीले क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।