`

‘खेलकुदको बहुआयामिक पक्षलाई आत्मसात गरौँ’

Nepal One HD २२ चैत २०८० २१:२४
खेलकुद

कास्की । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुदको बहुआयामिक पक्षलाई सबैले आत्मसात् गर्नुपर्ने बताएका छन् ।

‘विकास र शान्तिका लागि अन्तर्राष्ट्रिय खेलकुद दिवस’का सन्दर्भमा ‘नेपाल भूतपूर्व खेलाडी मञ्च नेपाल’ले बिहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा उनले ‘शान्ति’ भगवान् बुद्धसँग जोडिएको मात्रै नभइ लुम्बिनी नेपाली खेलकुदको जगसमेत भएकाले सो दिवस लुम्बिनीमा मनाउन लागिएको बताए ।

अध्यक्ष श्रेष्ठले भने, “बुद्ध जन्मस्थल लुम्बिनीबाट सुरु भएको खेलकुदको इतिहासलाई समेत जोड्दै लुम्बिनीबाट शान्तिको सन्देशलाई विश्वसामु पुर्याउन ओलम्पिक कमिटी अघि बढेको छ ।”

खेलाडीका लागि अन्तिम सपना ओलम्पिक खेल्नु रहेको र त्यसका लागि खेलाडी योग्य भएर नहुने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले खेलाडीले ओलम्पिकमा पदक ल्याउन समाजको समेत उत्तिकै हात हुने बताए ।

“खेलाडीले समाजमा जुन रुपमा पाउनुपर्ने अधिकार हो त्यो नपाउँदा ओलम्पिक सम्मको यात्रा गर्न सम्भव छैन । एक खेलाडी अघि बढ्न समाज पनि जोडिएको हुन्छ, विकसित समाज भएको ठाउँका खेलाडी अब्बल हुन्छन्”, उनले भने ।

ओलम्पिक मूल्य मान्यतालाई स्वीकार नगरेसम्म खेलकुदको विकास नहुने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले सरकार र ओलम्पिकबीचको तादम्यता नमिल्दा कुनै बेला नेपाली खेलकुदले गतिरोधसमेत बेहोर्नु परेको बताए ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरले खेलकुदमा लगानीलाई प्राथमिकता दिएको बताए । पोखरा पर्यटकीय राजधानी भएकाले खेल पर्यटन यसको हाँगाको रुपमा रहेको उनको भनाइ छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाटले खेलाडीका लागि ओलम्पिक सबैभन्दा ठूलो उपाधि रहेकाले खेल क्षेत्रमा राजनीतिकरण गर्न नहुनेमा जोड दिए

कार्यक्रममा मञ्चका निवर्तमान अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेज गुरुङले प्राचिन ओलम्पिक र वर्तमान नेपाली खेलकुदको अवस्था, अन्तर्राष्ट्रिय खेलकुद दिवसको महत्वका बारेमा जानकारी गराउँदै विश्वमा शान्ति ल्याउन खेलकुद दिवसको भूमिका महत्वपूर्ण रहेको बताए ।

मञ्चका कार्यवाहक अध्यक्ष दिलबहादुर गुरुङले खेलकुदमा लगानी कम भएको गुनासो गर्दै राज्यको लगानीसँगै निस्वार्थ भावनाको आवश्यकता रहेको उल्लेख गरे । विश्वभर अन्तर्राष्ट्रिय खेलकुद दिवस संयुक्त राष्ट्र सङ्घ र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीद्वारा विभिन्न सेमिनार, गोष्ठी, अन्तरक्रिया तथा खेलकुद प्रतियोगिताको आयोजना गरी मनाउने गरिएको छ ।


प्रतिक्रिया