`

श्रम मन्त्रीको चेतावनी– ‘कुन सहकारीको पैसाले चुनाव जितेको हो खोज्न नपरोस’

Nepal One HD २४ चैत २०८० १४:५५
अर्थ समाचार

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सहकारी ठगी प्रकरणमा रास्वपा लक्षित टिप्पणी गर्ने सांसदहरुको अनियमितताको बारेमा खोज्न बाध्य नबनाउन चेतावनी दिएका छन् । शनिवार काठमाडौँमा भएको कार्यक्रममा श्रममन्त्री अर्यालले रास्वपा– इक्वेल सहकारी भन्दै हिँड्ने सांसहरुप्रति लक्षित गर्दै कुन सहकारीबाट पैसा झिकेर गाडी, जग्गा किनेको र चुनाव जितेको छ भन्नेकुरा खोज्न नपरोस् भन्दै चेतावनी दिएका हुन् ।

उनले आजसम्म सहकारीको समस्या समाधानका लागि कुनैपनि राजनीतिक दलले केही पहल नगरेको भन्दै कुन राजनीतिक दलले सहकारी समस्या समाधानको बारेमा संसदमा आवाज उठायो ? भन्दै प्रश्न समेत गरे । उनले सहकारीको समस्या समाधानको लागि काम गरेर सहकारी पीडितको पैसा फिर्ता गर्नेतिर सोच्ने की मान्छेलाई जेलमा कोचेर उनीहरुको पैसा फिर्ता नगर्नेतिर जाने भन्नेतर्फ ध्यान दिन आग्रह गरे ।

उनले हाम्रो नयाँ कृषि सहकारीमा आफूले २३ लाख लगानी डुबेको बताउँदै रकम उठाइदिनेलाई एक÷दुई लाख रुपैयाँसम्म दिने बताए । उनले सो सहकारीमा रहँदा आफूले उपाध्यक्ष हुनका लागि एउटा सही छाप गर्नुबाहेक अरु कुनै कारोबारमा सही नगरेको दाबी समेत गरे । मन्त्री अर्याललले कांग्रेसका युवा नेताहरुलाई पार्टीका पुरानो पुस्ता सकिएपछि आफूहरुले नै नेतृत्व गर्न पाइन्छ भन्ने भएको भएपनि रास्वपा आइसकेपछि आफूहरुको अस्तित्व मेटिने र सरकारको नेतृत्व गर्न नपाइने डरले रास्वपाप्रति आक्रमण गरिरहेको आरोप समेत लगाए ।


प्रतिक्रिया