सबै भ्रष्ट नेतालाई जेल हाले मात्रै देश बन्छ– नेता भण्डारी


बुटवल । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सबै भ्रष्ट नेताहरुलाई जेल हाले मात्रै देश बन्ने बताएका छन् । शनिबार बुटवलमा भएको कार्यक्रममा नेता भण्डारीले मुलुको विकास हुन नसक्नुको मुख्य कारण भ्रष्टाचार भएको उल्लेख गर्दै ठूला दलका शीर्ष नेताहरुले आफ्नो स्वार्थ मात्र हेरेकाले मुलुक बिग्रिएको बताए । अपवाद वाहेक अधिकांश नेताहरु देश बनाउन नभइ आफ्नो परिवार र आफन्तको स्वार्थमा केन्द्रित भएको उनको आरोप छ ।
सरकारको गलत नीतिका कारण हरेक क्षेत्रका व्यवसायीहरु समस्यामा परेका उल्लेख गर्दै नेता भण्डारीले जनप्रतिनिधिलाई तलब खुवाउन सवारी साधन आयातमा तीन सय प्रतिशतसम्म महँगो कर लिने गरिएको बताए ।
उनले न्यायालय पनि ठूला व्यापारी थुनामा पर्दा उनीहरुकै प्रभावमा परेर छोड्न दबाब दिने गरेको टिप्पणी गरे । नेता भण्डारीले चर्को कर र बैंक ब्याज दरका कारण नेपालको कृषि र अन्य व्यवसाय फस्टाउन नसकेको बरु संकटमा पर्दै गएको धारणा राखे । देश बनाउन अब आउने चुनावमा भ्रष्ट नेताहरुलाई हराउन मतदाता पनि परिवर्तन हुनुपर्नेमा उनले जोड दिए ।
नेता भण्डारीले नेपालमा सांसद र मन्त्रीको संख्या अत्यधिक धेरै भएकाले राजस्वले तलब खुवाउन पनि नपुग्ने अवस्था रहेको बताए ।