पलेसा र कविराज वर्षका उत्कृष्ट
भरतपुर (चितवन), ८ वैशाखः नेपाल तेक्वान्दो सङ्घको आठौँ वार्षिक साधारणसभा आजदेखि चितवनको सौराहामा सुरु भएको छ । साधारणसभाको युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले उद्घाटन गर्नुभयो ।
सो अवसरमा मन्त्री श्रेष्ठले खेलकुदको विकासमा वर्तमान सरकार निरन्तर लागिरहने बताउनुभयो । उहाँले खेलक्षेत्रमा प्रशस्त सम्भावना रहेको भन्दै सबै विधाका खेलमा सरकारको लगानी रहने बताउनुभयो ।
उपसभामुख इन्दिरा रानाले खेलाडीलाई राज्यले हेर्नुपर्ने बताउनुभयो । साधारणसभामा ६५ जिल्लाका एक सय ३० जना प्रतिनिधि सहभागी भएको नेपाल तेक्वान्दो सङ्घ चितवनका सचिव सैलेस श्रेष्ठले जानकारी दिनुभयो ।
साधारणसभामा छनोट चरण पार गर्दै पेरिस पारालिम्पिक खेल्न लाग्नुभएकी पारा तेक्वान्दो खेलाडी पलेसा गोवद्र्धन र प्रशिक्षक कविराज नेगी लामा वर्षका उत्कृष्ट खेलाडी र प्रशिक्षकबाट सम्मानित हुनुभएको छ । पलेसालाई रु ५० हजार र कविराजलाई नगद रु १५ हजारसहित सम्मान गरिएको हो ।
यसैगरी रोल्पाको जलजला तेक्वान्दो डोजाङका प्रशिक्षक हेमन्त खत्री उत्कृष्ट तेक्वान्दो इन्स्ट्रक्टर अवार्डबाट सम्मानित हुनुभयो । उहाँलाई नगद रु १५ हजारबाट सम्मान गरिएको थियो । यस्तै उत्कृष्ट जिल्ला र उत्कृष्ट प्रदेशबाट चितवन र बागमती प्रदेशलाई नगद रु २५ हजारबाट सम्मान गरिएको थियो ।
उपसभामुख इन्दिरा रानामगर र गोल्छा समूहका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छालाई नगद रु २५ हजारसहित सम्मान गरिएको सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणाले जानकारी दिनुभयो ।
