`

नेपालका हिमाल र मञ्जुलाई ‘ओपन दुआथलन’ च्याम्पियनसीपको उपाधि

Nepal One HD १६ वैशाख २०८१ २२:२४
खेलकुद

कास्की । पोखरामा आइतबार सम्पन्न एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसीपअन्तर्गतको ‘ओपन दुआथलन’ मा पुरुष तथा महिला दुबैतर्फ नेपाली खेलाडी च्याम्पियन बनेका छन् ।

नेपाल ट्रायथलन सङ्घको आयोजना तथा गण्डकी प्रदेश र कास्की जिल्ला ट्रायथलन सङ्घको व्यवस्थापनमा भएको दुआथलनको सात किलोमिटर दौड र २० किलोमिटर साइक्लिङमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का च्याम्पियन बनेका हुन् ।

उपाधि विजेता टमटाले निर्धारित दूरी ५१ मिनेट २४ सेकेण्डमा पार गरेका थिए । नेपालकै नवराज न्यौपानेले सो दूरी पार गर्न एक घण्टा तीन मिनेट ४७ सेकेण्ड लगाउँदै द्वितीय र लक्ष्मण मल्लले एक घण्टा चार मिनेट ५८ सेकेण्डमा दूरी पार गरी तृतीय बने ।

पुुरुषतर्फको खुला प्रतिस्पर्धामा नेपालसहित भारत, बङ्गलादेश र जर्मनीका गरी नौ खेलाडीले प्रतिस्पर्धा गरेका थिए भने महिलातर्फ तीन खेलाडीमात्र सहभागी थिए । महिला ओपन दुआथलनमा च्याम्पियन बन्न सफल टोलीलाई नै राष्ट्रिय च्याम्पियन घोषणा गरिएको थियो ।

त्यसैगरी महिलातर्फको ‘ओपन’ तथा राष्ट्रिय च्याम्पियनसीपको उपाधि विजेता खड्काले निर्धारित दूरी एक घण्टा १९ मिनेट ४५ सेकेण्डमा पूरा गर्नुभयो । पुष्पा रोकायले एक घण्टा २३ मिनेट ३६ सेकेण्डमा दूरी पार गरेर द्वितीय बन्दा प्रमिला धमलाले एक घण्टा २८ मिनेट ३४ सेकेण्डमा सो दूरी पार गरी तृतीय बनिन् ।

एशिया कप ट्रायथोलन तथा दक्षिण एशियाली च्याम्पियनसीपअन्तर्गतको एशिया कप ट्रायथलनमा भने पुरुषतर्फ इजिप्टका सिफेलडिन इसमाइ र महिलातर्फ आइसल्याण्डका इडा हानिसडोटिर च्याम्पियन बनेका थिए ।

यसअघि गण्डकी प्रदेशका आर्थिक मामिला तथ योजनामन्त्री हरिबहादुर चुमानले प्रतियोगिताको शुभारम्भ गरेका थिए । विजेता खेलाडीलाई नेपाल ट्रायथलन सङ्घका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक कोइराला, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ, पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, ट्रायथलन सङ्घका केन्द्रीय उपाध्यक्ष सुमन देवकोटा, स्थानीय व्यवस्थापन समितिका संयोजक डिल्लीराज सुवेदी (शिशिर), पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ लगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।


प्रतिक्रिया