`

पाकिस्तानको खैबर पख्तुनख्वामा न्यायाधीश अपहृत

Nepal One HD १७ वैशाख २०८१ ६:४२
विश्व

दक्षिण बजिरिस्तानमा आफ्नो कर्तव्य पालन गरिरहेका जिल्ला न्यायाधीश शकिरुल्ला मारवातलाई खैबर पख्तुनख्वाको ट्याङ्क र डेरा इस्माइल खानको सीमा क्षेत्र नजिकै हतियारधारीहरूले अपहरण गरेको प्रहरीलाई उद्धृत गर्दै जियो न्युजले बताएको छ ।डेरा इस्माइल खानको प्रहरी उपरीक्षक मोहम्मद अदनानले घटनाको पुष्टि गर्दै ट्याङ्क र डेरा इस्माइल खानको सीमा क्षेत्रको बीचमा रहेको बग्वाल गाउँमा न्यायाधीश कार्यालयबाट डेरा इस्माइल खान फर्किंदै गर्दा उक्त घटना भएको बताउनुभयो । अपहरणकारीहरूले न्यायाधीशको कार र चालकलाई घटनास्थलबाटै छाडेको उहाँले बताउनुभयो । उहाँको अपहरणको कसैले जिम्मेबारी नलिएको प्रहरीले बताएको छ ।

दुर्भाग्यपूर्ण घटनाप्रति प्रतिक्रिया दिँदै पाकिस्तान पिपुल्स पार्टी (पिपिपी) का केन्द्रीय सूचना सचिव फैसल करिम कुन्दीले चिन्ता र दुःख व्यक्त गर्नुभयो । उहाँले खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गन्डापुरलाई प्रान्तमा शान्ति स्थापनाप्रति उहाँको ‘गैर–गम्भीरता’ बारे स्पष्ट गर्न बोलाउनुभयो ।

उहाँले भन्नुभयो, “मुख्यमन्त्रीले शान्ति स्थापनाप्रति किन गम्भीर नभएको र आतङ्कवादी किन खुलेआम छन् भन्नेबारे बताउनुपर्छ ।” उहाँले न्यायाधीशको अपहरणको खबरले जनतामा असुरक्षाको भावना सिर्जना भएको बताउनुभयो । उक्त विषयमा खैबर पख्तुनख्वाका मुख्यमन्त्री गन्डापुरले अपहृत न्यायाधीशलाई सकुशल उद्धार गर्न निर्देशन दिनुभएको थियो । उहाँले न्यायाधीश मारवातको उद्धारका लागि आपत्कालीन उपायहरू अपनाउनुपर्ने र उपलब्ध सबै स्रोतसाधन प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अपहरणमा संलग्न तत्व न्यायबाट उम्किन नसक्ने बताउनुभयो ।


प्रतिक्रिया