मारबाडी क्रिकेट लिगः वीरगञ्ज र लुम्बिनी लायन्स सेमिफाइनलमा


भैरहवा (मर्चवार), २९ वैशाखः वीरगञ्ज ब्लास्टर र लुम्बिनी लायन्स भैरहवा चौथो संस्करणको नेपाल मारबाडी क्रिकेट लिगको सेमिफाइनलमा प्रवेश गरेका छन् । यी दुई टिम समूह ‘बी’बाट शीर्षस्थानमा रहँदै सेमिफाइनलमा पुगेका हुन् ।समूह ‘बी’अन्तर्गत शनिबार भएको अन्तिम खेलमा वीरगञ्जले जनकपुरमाथि एक सय १३ रनको सानदार जित निकाल्दै सेमिफाइनल पुग्दा लुम्बिनीलाई भने नेपालगञ्ज वारियर्सले वाकओभर दिँदा सेमिफाइनल सहज भएको हो ।
भैरहवास्थित सिद्धार्थ रङ्गशालामा भएको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको वीरगञ्जले निर्धारित २० ओभरको खेलमा पाँच विकेटको क्षतिमा एक सय ७० रनको बलियो योगफल बनायो । त्यसका लागि अभय रु¬ङ्गटाले ४४, रौनक केएलले अविजित ४२, गौरव अग्रवालले २० तथा सुमित कडमिया र राजन केएलले १४–१४ रनको योगदान गरे । बलिङमा जनकपुर रोयल्सका रवि अग्रवाल, आशिष सराफ, प्रविण अग्रवाल र राहुल नहरले समान १–१ विकेट लिए ।
एक सय ७० रनको उच्च योगफल पछ्याएको जनकपुर १२ ओभर ५ बलमा सबै विकेट गुमाउँदै ५७ रनमै समेटियो । उसका लागि आशिष सराफले १८ र प्रवीण अग्रवालले १७ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अङ्कमा रन बटुल्न नसक्दा सो टिम फराकिलो अन्तरले पराजित भयो । जनकपुरलाई सस्तैमा रोक्न बलिङमा वीरगञ्जका विनित लोहियाले तीन दशमलव पाँच ओभरमा १८ रन खर्चेर सात विकेट हात पारे । यस्तै, अभय रुङ्गटाले दुई विकेट लिए । खेलमा विनित लोहिया प्लेयर अफ द म्याच भए ।
नेपाल राष्ट्रिय मारबडी युवा सङ्ठगन केन्द्रीय समितिको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल भने मूलपानी क्रिकेटमैदान काठमाडौँमा हुने आयोजक संस्थाका केन्द्रीय अध्यक्ष मनोजकुमार अग्रवालले जानकारी दिनुभयो ।