`

सहिद भीमनारायण गोल्डकपको उपाधि युनाइटेड झापालाई

Nepal One HD २९ वैशाख २०८१ २२:४४
खेलकुद

धनकुटा । सहिद भीमनारायण गोल्डकपको १६औँ संस्करणको उपाधि बिर्तामोड युनाइटेड क्लब झापाले जितेको छ । शनिबार भएको फाइनलमा सशस्त्र प्रहरी (एपिएफ) काठमाडौँलाई शून्य–तीन गोलअन्तरले पराजित गर्दै युनाइटेड झापाले उपाधि जितेको हो ।

पहिलो हाफमा बराबरी भएको खेलमा दोस्रो हाफमा युनाइटेडले एपिएफका विरुद्ध लगातार तीन गोल गरेको थियो । खेलको ५१औँ मिनेटमा युनाइटेड झापाका जर्सी नं ९ का टिम क्याप्टेन आशीष चापागाईँले पहिलो गोल गरे । त्यस्तै ६७ मिनेटमा जर्सी नं ११ का अभिषेक गुरुङले टोलीका लागि दोस्रो गोल गरे भने अतिरिक्त समयमा जर्सी नं १९ का देवेन्द्र तामाङले खेलको ९० मिनेटमा तेस्रो गोल गरे ।

पटक–पटक गोल गर्ने मौका पाएको एपिएफले अतिरिक्त समयको ९३ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्न सकेन । एपिएफका जर्सी नं ४५ का सुमन श्रेष्ठले हानेको पेनाल्टी झापाका गोलरक्षक सन्दीप लिम्बूले रोकेका थिए ।

खेलका उत्कृष्ट गोलरक्षक विजेता टोलीका गोलरक्षक सन्दीप लिम्बू, उत्कृट मिडफिल्डर उपविजेता टोलीका बुद्धिमान राई भएका छन् । त्यस्तै विजेता टोलीका देवेन्द्र तामाङ वेष्ट डिफेन्डर, अभिषेक गुरुङ बेष्ट फरवार्ड र आशीष चापागाईँ सर्वोउत्कृष्ट खेलाडी घोषित भएका छन् ।

जितसँगै युनाइटेड झापाले नगद पाँच लाखसहित गोल्डकप, मेडल तथा प्रमाणपत्र पाएको छ भने र उपविजेता एपिएफले दुई लाख नगद, मेडल तथा प्रमाणपत्र पाएको छ । विजेता टोली र उपविजेतालाई सहिद भीमनारायण श्रेष्ठ प्रतिष्ठानका अध्यक्ष पुरेनद्रलाल श्रेष्ठ, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायतले पुस्कार प्रदान गरेका थिए ।

तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा हाल धनकुटा नगरपालिका वडा नं ६ निवासी श्रेष्ठलाई मृत्युदण्ड दिइएको थयो । विसं २०७४ मा सरकारले सहिद घोषणा गरिएका श्रेष्ठको स्मृतिमा २०५५ सालदेखि प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।


प्रतिक्रिया