सिरियाको राष्ट्रिय वायुसेवाद्वारा १२ वर्षपछि पुनः साउदी उडान सुरु


सिरियाको राष्ट्रिय वायुसेवाले १२ वर्षको निलम्बनपछि बुधबार साउदी अरबका लागि पुनः नियमित उडान सेवा सुरु गरेको छ ।
सिरियन एयरलाइन्सद्वारा घोषणा गरिएको र साउदी अरबका लागि सिरियाका राजदूतले एएफपीलाई पुष्टि गरेको यो कदमले गत वर्ष कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्ने दुई सरकारबीचको सुस्त सम्बन्ध जारी राखेको छ ।
राजदूत अयमान सुसनले एक सय ७० यात्री लिएर सिरियन एयरलाइन्सको एक विमान साउदी राजधानी रियादमा अवतरण भएको बताउनुभयो ।
नियमित मार्गको सिरियाको गृहयुद्धका कारण लामो समयसम्म रोकिएपछि दुई देश रियाद र दमास्कसबीच प्रति हप्ता एक राउन्ड ट्रिप उडान सञ्चालन गर्न सहमत भएको उहाँले जानकारी दिनुभयो ।
सिरियाली यातायात मन्त्रालयका अधिकारी सुलेमान खलिलले मागअनुसार साउदी सहर जेद्दा र दमामका विमानस्थलहरू कभर गर्न सीधा मार्ग विस्तार गर्न सकिने बताउनुभयो ।
सन् २०१२ मा रियादले सिरियाको गृहयुद्धको प्रारम्भमा सरकारविरोधी प्रदर्शनकारीहरूमाथि राष्ट्रपति बसर अल–असदको क्रुर दमनलाई लिएर दमास्कससँगको सम्बन्ध तोडेपछि दुई मुलुकबीचको यात्रुवाहक उडान रोकिएको थियो ।
मक्का र मदिनाको वार्षिक मुस्लिम हज तीर्थयात्रामा भाग लिने तीर्थयात्रीहरूका लागि अस्थायी आधारमा सिरिया र साउदी अरबबीच सेवाहरू मे महिनामा पुनः सुरु भएको थियो ।
दुई देशबीचको सम्बन्ध पुनःस्थापित भएको एक वर्षभन्दा बढी समयपछि साउदी अरबले मे महिनामा मात्रै दमास्कसका लागि नयाँ राजदूत नियुक्त गरेको थियो ।
सन् २०२३ मेमा सिरियाली राष्ट्रपति बसर अल–असदले साउदी अरबमा १३ वर्षमा आफ्नो पहिलो अरब शिखर सम्मेलनमा भाग लिनुभएको थियो ।