पाकिस्तानद्वारा विश्वस्तरीय पर्वतारोहण विद्यालय स्थापना गर्ने योजना


पाकिस्तानी प्रधानमन्त्रीको जलवायु परिवर्तन र वातावरणीय समन्वयमा संयोजक रोमिना खुर्शिद आलमले उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा विश्वस्तरीय पर्वतारोहण विद्यालय स्थापना गर्ने योजना रहेको बताउनुभएको छ ।
यहाँ आयोजित एक बैठकको अध्यक्षता गर्दै उहाँले विद्यालयले विश्वस्तरीय, वातावरणमैत्री पर्वतारोहण, आरोहण र पर्वतीय पर्यटन प्रवर्द्धन गर्न पाकिस्तानको उत्तरमा पर्वतारोहण, शेर्पा तालिम र दिगो पर्यटन अभ्यासलाई ध्यानमा राखेर विशेषगरी तालिम र शैक्षिक सुविधाको व्यवस्था गर्ने बताउनुभएको जलवायु परिवर्तन तथा वातावरण समन्वय समितिले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्ता सुविधाहरूको स्थापनाले आकांक्षी पर्वतारोही र हिमाल आरोहीहरूलाई स्थानीय वातावरण, पर्वतीय समुदाय र सहयात्रीहरूको संस्कृतिको सम्मान गर्दै सुरक्षित रूपमा हिमालको आनन्द लिन ज्ञान र आत्मविश्वास बढाउन मद्दत पुग्ने आलमले भन्नुभयो ।
यस क्षेत्रको स्कर्दु जिल्लामा विश्वस्तरको सरकारी पर्वतारोहण विद्यालय स्थापना गर्ने योजना कार्यान्वयनमा रहेको बताइएको छ ।यसले स्थानीय हिमाली समुदायका लागि रोजगारीका नयाँ अवसरहरू खोल्ने र दिगो र वातावरणमैत्री पर्वतारोहण र आरोहणलाई प्रवर्द्धन गर्न मद्दत गर्ने लक्ष्य राखेको छ ।