हवाई उडानलाई सुरक्षित बनाउन सरकारले विशेष निर्णय गर्छः पर्यटनमन्त्री पाण्डे
राजनीति
काठमाडौँ, २४ साउनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको हवाई उडानलाई सुरक्षित बनाउन सरकारले विशेष निर्णय लिने बताउनुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसदहरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुँदै उहाँले हवाई सुरक्षाको एकीकृत समाधानका लागि नीतिगत, कानुनी, संरचनागतलगायतका विषयमा अध्ययन गरी सरकारले चाँडै आवश्यक निर्णय लिने उल्लेख गर्नुभयो । विभिन्न समयमा गठन भएका विभिन्न समितिका प्रमुखसँग छलफल गरी छिट्टै विशेष निर्णय लिइने उहाँले बताउनुभयो ।
पर्यटनमन्त्री पाण्डेले आफ्ना लागि पद ठूलो र दुर्लभ नभएको उल्लेख गर्दै समग्र उडड्यन क्षेत्रका समस्या समाधान गर्न कार्ययोजना निर्माण गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “मैले मन्त्री पदलाई कुनै ठूलो र दुर्लभ पद ठानेको छैन । म आफ्नो ईमान र मेहनतको भरमा काम गरिरहेको छु । अहिले मन्त्रालय मातहतका बेथिती र विसङ्गति हटाउन दैनिक १८ घण्टा काम गरिरहेको छु । म आफूलाई विकृतिको डुङ्गुरमाथि उभिएको महसुस गरेको छु ।”
पर्यटनमन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विभाजन विधेयकलाई अगाडि बढाउने गरी मन्त्रालयले काम गरिरहेको पनि जानकारी दिनुभयो । प्राधिकरणलाई नियामक र सेवा प्रदायकका रुपमा छुट्याउने विधेयक राष्ट्रिय सभाबाट पारित भइसकेको छ । उहाँले एक÷दुई दिनमै उक्त विधेयकलाई अगाडि बढाउनेमा विश्वास दिलाउनुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
