गाजामा ‘विशुद्ध सैन्य दृष्टिकोण’ समाधान होइन– जर्मन विदेशमन्त्री


जर्मन विदेशमन्त्री एनालेना बेयरबकले शुक्रबार गाजा पट्टीमा हमासविरुद्ध इजरायलको युद्धको समाधान सैन्य दृष्टिकोण मात्र नभएको बताउनुभएको छ ।
इजरायलको तटीय सहर तेल अभिवमा आफ्ना इजरायली समकक्षी इजरायल काट्जसँगको बैठकपछि पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “गत साताले गाजाको स्थितिका लागि विशुद्ध सैन्य दृष्टिकोण समाधान होइन भन्ने नाटकीय रूपमा देखाएको छ ।”
उहाँले आइतबार घोषित थप छ मृतक बन्धकहरूको बरामदबारे सङ्केत गर्नुभएको थियो । उनीहरूको मृत्युले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि गाजा युद्धविराम र बन्धकको आदानप्रदान सम्झौताका लागि हमाससँग सम्झौता गर्न घरेलु दबाब बढाएको छ । यद्यपि दुवै पक्षले यसै साता रोकिएको वार्तालाई लिएर एकअर्कामाथि दोषारोपण गरेका छन् ।
बेयरबकले शुक्रबार ‘अहिले युद्धविराम’ को आह्वान गर्नुभयो र पश्चिम किनारका बारेमा इजरायली अधिकारीहरूको आक्रामक वयानविरुद्ध कुरा गर्नुभयो । पश्चिम किनारमा अगस्ट २८ मा इजरायली सेनाले धेरै सहरमा गरेको आक्रमणमा कम्तीमा ३६ जनाको मृत्यु भएको थियो ।
इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–गभिरले शुक्रबार एक्समा पोस्ट गर्दै नेतान्याहुसँग पश्चिम किनारमा हमास र अन्य लडाकू सङ्गठनहरूको हारलाई युद्धको उद्देश्यमध्ये एक बनाउन भनेको बताउनुभयो ।
“इजरायली सरकारका सदस्य आफैँले गाजाको जस्तै पश्चिम किनारमा पनि सोही दृष्टिकोणको आह्वान गर्दछ भने यसले वास्तवमा इजरायलको सुरक्षालाई गम्भीर रूपमा जोखिममा पुर्याउँछ”, बेयरबकले भन्नुभयो ।
सन् १९७२ को ओलम्पिक खेलकुद हत्याको वार्षिकीका अवसरमा म्युनिखको इजरायली वाणिज्य दूतावासमा असफल ‘आतङ्कवादी आक्रमण’ का रूपमा व्यवहार गर्ने क्रममा उनीहरूमाथि गोली चलाउने एक व्यक्तिलाई जर्मन प्रहरीले गोली हानेर मारेको एक दिनपछि मन्त्री बेयरबकको उक्त टिप्पणी आएको हो ।
आफूले काट्जसँग ‘गहिरो र पूर्ण ऐक्यबद्धता’ व्यक्त गरेको उहाँले बताउनुभयो । “यो भयानक अवस्था हो, विशषगरी म्युनिख सन् १९७२ को वार्षिकीमा यो हाम्रा लागि भयानक क्षण हो”, उहाँले भन्नुभयो ।