`

प्रचण्डसँगको भेटलाई रविन्द्र मिश्रले आफ्नो स्वार्थ अनुकुल प्रस्तुत गरेको भन्दै सचिवालयको खण्डन

Nepal One HD ९ असोज २०८१ ९:४०
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले प्रचण्डसँगको भेटलाई आफ्नो स्वार्थ अनुकुल प्रस्तुत गरेको बताएको छ । बुधबार प्रचण्डको सचिवालयले मिश्रको भनाईको खण्डन गर्दै यस्तो बताएको हो ।

यस्तो छ प्रचण्डको सचिवालयको खण्डन
हिजो बिहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्र जीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पोस्ट्याउनु भएको छ साथै पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नु भएको छ । जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान वलिदानीपुर्ण आन्दोलनको नेतृत्व गर्नु भयो। शान्ति र संविधान निर्माणको नेतृत्व गर्नु भयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तब्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ। उहाँका विचार भनेर मिश्र जीले समय सन्दर्भबाट कटाएर आफ्नो राजनैतिक स्वार्थ अनुकुल प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।
पन्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोहि नेपाली भ्रममा होलान् र मिश्र जी ? तसर्थ यति सस्तो राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि ?

प्रचण्डको भेटपछि मिश्रले यस्तो लेखेका थिए

सोमबार कार्यक्रममा भेट भयो । मंगलबार वर्षौँपछि प्रचण्ड निवासमा भेट भयो । ‘अब देश यस्तो विन्दूमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने यो देश ‘विष्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ । र त्यतिबेला तपाईँहरूको ‘अग्रगमन’, नाम र सालिक केही बाँकी रहने छैन।’ लामो व्याख्यासहित सारमा मैले यही भनेँ ।
त्यसपछि उहाँका केही टिप्पणी अर्थपूर्ण लाग्योः

१. यही स्थितिको निरन्तरताबाट अब देश चल्दैन भन्ने निष्कर्षमा म पनि पुगिसकेँ । आजभोलि प्रशिक्षणमा यही भनिरहेको छु ।

२. पछिल्लो पटक प्रधानमन्त्री हुँदा नेपालका उद्योगधन्दाहरूको सबै विवरण मागेर हेरेको त पंचायतकालमा धेरै राम्रो काम भएको रहेछ । राजा महेन्द्र त गजबका ‘भिजनरी’ राजा रहेछन् ।

३. द्वन्द्वका बेला मेरा केही साथी राजसंस्थाकाबारे पुरै नकारात्मक थिए । म त देशको हित हुन्छ भने राजासँग मिलेरै गएपनि राम्रो हुन्छ भन्ने पक्षमा थिएँ ।

४. राजा ज्ञानेन्द्रले पनि २०६२/०६३ को आन्दोलनको ताका अलि नरम भइदिएको भए आज परिस्थिति आर्कै हुन्थ्यो ।

५. देशमा विदेशी हस्तक्षेप चरम अवस्थामा पुगेको सही हो ।

६. अहिले पो प्रधानमन्त्री भएँ । युद्ध गर्दा त मरिन्छ–बाँचिन्छ, थाहा थिएन। देश बनाउनै भनेर सारा गरेको हो । अहिले पनि मेरो भावना देश नै बनाउनु पर्छ भन्ने हो। तर अब यसरी चाहिँ हुँदैन ।

७. म अहिले नै तपाईँको विचारसँग सहमत हुने स्थितिमा त पुगेको छैन । तर राति सुत्ने बेलामा सोच्न चाहिँ पर्ने अवस्था छ। ‘निरन्तरतामा क्रमभंगता’ अत्यावश्यक भइसक्यो ।

कौसीमा लामो संवाद गरेर तल ओर्लिंदा माओवादी पार्टीका दर्जनौँ साथीहरू प्रचण्डजीलाई पर्खेर बसिरहेका थिए ।
सतहमा उनीहरू आफ्नो नेता पर्खिरहेका थिए। तर गहिराइमा उनीहरू यो देश कहिले बन्ला र मेरा बालबच्चा/बाबुआमाले सुख पाउलान् भनेर पर्खिरहेका करोडौं नेपालीका प्रतिनिधि पात्र थिए । उनीहरूको जीवन पर्खिएरै बितिसकेको छ/वित्नेछ भन्नेमा संभवतः उनीहरू अनभिज्ञ थिए । म चाहिँ ‘ईश्वर नै स्वर्गबाट झरेर देश बनाइदिन्छु’ भने पनि वर्तमान प्रणालीमा यो देश बन्दैन र अझ बिग्रिन्छ भन्नेमा विश्वस्त छु ।

बाबुराम भट्टराईको आपत्ति
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि मिश्र र प्रचण्डबीचको भएको कुराकानीलाई ‘बिरालो’को संज्ञा दिएका थिए ।

भट्टराईले यस्तो टिप्पणी गरेका थिए

बयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा–बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउ गरिहाल्छ रे ! प्रचण्ड र रविन्द्र मिश्रबीचको अन्तरंग कुराकानीको सत्यतथ्य उहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखिजान्ने सबैलाई थाहा छ अहिले ‘बिरालो म्याउ’ गरेकै हो ! किनकी प्रचण्डको वास्तविकता त्यही हो ।

यसको अर्थ हो– गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेशी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषित पीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो । केही राजावादीहरू चिच्याउँदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन् ! खोस्न दिनु हुँदैन !


प्रतिक्रिया