`

१३ महिना भन्दाबढीको वस्तु तथा सेवा आयात धान्ने विदेशी मुद्रा सञ्चिति

Nepal One HD १० असोज २०८१ १४:२०
अर्थ समाचार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ । बैंकले बिहीबार आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

विवरण अनुसार विप्रेषण आप्रवाह १८ प्रतिशतले बढेको हो । त्यस्तै साउन महिनासम्म १५ अर्ब ५८ करोड डलर सञ्चिति रहेको बैंकले जनाएको छ । गत आर्थिक वर्ष २०८०/८१ को असार मसान्तमा १५ अर्ब २७ करोड डलर सञ्चिति थियो । एक महिनामा २ प्रतिशतले डलर सञ्चिति बढेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाली रुपैयाँमा यो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड बराबर हो । यस्तै आयात ०.६ प्रतिशतले र निर्यात ९.६ प्रतिशतले घट्दा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १८.० प्रतिशतले बढेको छ । यसैगरी शोधनान्तर स्थिति रु.४० अर्ब ९० करोडले बचतमा रहेको बैंकको भनाइ छ ।


प्रतिक्रिया