दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा


काठमाडौँ । दक्षिण अफ्रिका आइसीसी टी–२० महिला विश्वकपको फाइनलमा प्रवेश गरेको छ । दुबई इन्टरनेशल क्रिकेट मैदानमा बिहीबार राति भएको पहिलो सेमिफाइनल खेलमा ६ पटकको च्याम्पियन अस्ट्रेलियालाई आठ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा पुगेको हो ।
जितका लागि एक सय ३५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले १७.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । दक्षिण अफ्रिकाको जितमा एनेक बोशले अविजित ७४ रन बनाइन् ।
यस्तै लौरा वोल्भार्डले अविजित ४२ र ताजमिन ब्रिट्सले १५ रन जोडिन् । बलिङमा अस्ट्रेलियाकी अन्नाबेल सदरल्यान्डले दुई विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो ।
अस्ट्रेलियाको लागि बेथ मुनीले सर्वाधिक ४४ रन बनाइन् । एलेस पेरीले ३१, तहलिया म्याकग्राथले २७ र फोबे लिचफिल्डले १६ रन जोडिन् ।
बलिङमा दक्षिण अफ्रिकाकी अयाबोंगा खाकाले दुई विकेट लिइन् । ननकुलुलेको मलाबाले र मरिजान कापले एक एक विकेट झारिन् ।
फाइनलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्ड र वेस्ट इन्डिजबिचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल आज राति हुनेछ । फाइनल खेल आइतबार हुनेछ ।