`

इजरायली आदेशपछि लेबनानको टायर सहरका नागरिकको भागभाग

Nepal One HD ७ कार्तिक २०८१ १४:३०
विश्व

लेबनान । इजरायली सेनाले हजारौं विस्थापितको वासस्थान रहेको टायर सहरको ठूलो भाग खाली गर्ने चेतावनीसहितको निकासी आदेश जारी गरेपछि लेबनानी नागरिकहरू बुधबार उक्त स्थानबाट भागेका छन् ।

टायरको विपद् व्यवस्थापन एकाईका प्रमुख मोर्ताडा महन्नाले यहाँको “अवस्था निकै खराब भएकाले तिव्र गतिमा मानिसहरूलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको बताए ।

व्यवस्थापन एकाईका मिडिया अफिसर बिलाल काशमारले धेरैजना सहरबाट भागेर उपनगरतिर गएका बताए । उनका अनुसार हाल सम्पूर्ण टायर सहर खाली भएको छ ।

कयौँ पीडाहरुको सामना गरि बसेका केही परिवारहरूले पटक–पटकको इजरायली धम्की र निकासी आदेशका कारण ज्यान बचाउन आफ्नो घर छोड्न थालेको लेबनानको आधिकारिक राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

इजरायली सेनाले लेबनानी लडाकु समूह हिजबुल्लाहलाई लक्षित गरी सैन्य कारबाही गर्नु अघि टायरका बासिन्दाहरूलाई उक्त स्थान छोड्न आह्वान गरेपछि मानिसहरू तुरुन्तै भाग्न थालेको जनाएको छ ।

सेनाका अरबी भाषाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समा टायरको प्रभावित क्षेत्रको नक्सा सहितको फोटो पोस्ट गर्दै तुरुन्तै प्रभावित क्षेत्रबाट बाहिर निस्कि जीवन खतराबाट जोगाउन आह्वान गरेका छन् ।


प्रतिक्रिया