`

सिरियामा आइएसविरुद्ध काम गर्न ‘अनिवार्य’ रहेको ब्लिन्केनको भनाइ

Nepal One HD २८ मंसिर २०८१ १८:२९
विश्व

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियामा बशर अल असदको पतनपछि इस्लामिक स्टेट (आइएस) को पुनरुत्थानविरुद्ध काम गर्नु ‘अत्यावश्यक’ भएको टर्कीएका अधिकारीसँगको कुराकानीमा बताउनुभएको छ ।

बशर अल असदको सरकार ढलेपछि सिरिया सङ्कटबारे छलफल गर्न दोस्रो चरणको भ्रमणको क्रममा टर्कीएका विदेशमन्त्री हाकान फिदानसँग अन्कारामा भएको भेटवार्तापछि उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

ब्लिन्केनले संयुक्त पत्रकार सम्मेलनमा भन्नुभयो, “हाम्रो देशले धेरै मेहनत गरेको छ र आईएसआईएसको क्षेत्रीय खलिफाको उन्मूलन सुनिश्चित गर्न धेरै वर्ष प्रयास गरेको छ र ती प्रयासहरू जारी राख्न अनिवार्य छ ।

जवाफमा फिदानले टर्कीए सिरियामा जतिसक्दो चाँडो स्थिरता सुनिश्चित गर्न र जिहादीहरूलाई त्यहाँ आफ्नो पकड जमाउनबाट रोक्न प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

“हाम्रो प्राथमिकता सिरियामा जतिसक्दो चाँडो स्थिरता सुनिश्चित गर्ने, आतङ्कवादलाई बलियो हुनबाट रोक्ने र आईएसआईएस र पीकेकेलाई त्यहाँ प्रभुत्व जमाउनबाट रोक्ने हो,” टर्कीएविरुद्ध दशकौँ लामो विद्रोह लडेको कुर्दिस्तान वर्कर्स पार्टी (पिकेके) लाई सङ्केत गर्दै उहाँले भन्नुभयो ।

ब्लिन्केनले टर्कीएका विदेशमन्त्रीसँग एक घण्टाभन्दा बढी समय भेटवार्ता गरेपछि राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि भेटवार्ता गर्नुभएको अमेरिकी अधिकारीले बताएका छन् ।

भेटमा एर्दोगानले ब्लिङ्केनलाई सिरियामा आइएस जिहादीविरुद्धको लडाइँमा कहिल्यै पनि सहज नहुने तर चरमपन्थीहरूलाई नियन्त्रण गर्न आफुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

एर्दोगानले भन्नुभयो, “टर्कीले आइएसआइएसविरुद्धको लडाइँमा कुनै कमजोरी हुन दिने छैन ।


प्रतिक्रिया