स्वीकृतिबिना सञ्चालित अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
राजनीति
महेन्द्रनगर (धनुषा- मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइलगायत मापदण्ड पूरा नगरी जनकपुरधाममा सञ्चालित निजी अस्पताल तत्काल बन्द गर्न निर्देशन दिनुभएको छ ।
जनकपुरधामको मुजेलियाबाट भ्रमरपुराचोकसम्मका २० वटा निजी अस्पतालको अनुगमन गरेपछि उहाँले स्वीकृतिबिना सञ्चालित अस्पताल आइतबारसम्म आफैँले ताल्चा लगाउन सञ्चालकहरूलाई निर्देशन दिनुभएको हो ।
मुख्यमन्त्रीले बहुसङ्ख्यक अस्पताल कानुनअनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिएर सञ्चालन भइरहेकाले ती ठाउँमा उपचार गराइरहेका बिरामीलाई वैधताप्राप्त अस्पतालमा सारेर सेवा बन्द गर्न सञ्चालकहरूलाई निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले अनुगमन गर्नुभएका निजी अस्पतालमा जीवनज्योति हस्पिटल एण्ड रिसर्च सेन्टर, बिएन हस्पिटल एण्ड रिसर्च सेन्टर, जनकपुर सीता हस्पिटल, जनकपुर ग्रान्डी हस्पिटल, रामा मेमोरियल हस्पिटल एण्ड रिसर्च सेन्टर, मल्टी स्पेसयलिटी हस्पिटल एण्ड ट्रमा सेन्टर, समर हस्पिटल, केयर मेडिकल सेन्टर, नेपाल एपोलो हस्पिटल, श्रीराम हस्पिटल, नयना अस्पताल, अरमान हस्पिटल, मिहिलाल इन्टरनेसनल, सहयोग हस्पिटल, जनकपुर मोडर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, माँ गायत्री मेमोरियल हस्पिटल, म्याक्स हस्पिटल एण्ड रिसर्च सेन्टर, स्वस्तिका हेल्थकेयर अस्पताल, लाइफ केयर एन्ड रिसर्च सेन्टर र ओम दीर्घायु हस्पिटल प्रालिमा रहेका छन् ।
मुख्यमन्त्री सिंहले स्वीकृतिप्राप्त भई नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिना सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न चेतावनी दिनुभयो । अनधिकृत रूपले खेलिएका र स्वीकृतिप्राप्त गरे पनि मापदण्डसम्बन्धी सर्त पूरा नगरेका अस्पताल सञ्चालनसँग सम्बन्धित सबै कागजपत्र लिएर सरकारको सम्पर्कमा आउन आग्रह गरिएको उहाँको सचिवालयले जनाएको छ ।
अनुगमन क्रममा मुख्यमन्त्री सिंहले भन्नुभयो, “स्वीकृति नलिई मनपरी अस्पताल सञ्चालन गर्न पाइँदैन । स्वीकृति लिनुस्, चलाउनुस् । होइन भने बन्द गर्नुस् । आइतबारसम्म अस्पतालका बिरामीलाई अन्य उपचार संस्थामा सारेर आफैँले बन्द गर्नुभएन भने हामी सरकारी टोेली परिचालन गर्नेछौँ ।” उहाँले अवैध अस्पताल सञ्चालन गर्ने सञ्चालकसँगै कार्यरत कर्मचारीलाई समेत कारबाही गरिने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री सिंहले निजी अस्पतालका लागि लिइएको स्वीकृति कागजातसहित दस्तावेज, मापदण्डअनुसार जनशक्तिको सङ्ख्यात्मक उपलब्धता र व्यवस्थापन, स्वास्थ्य उपकरण, सेवाको उपलब्धता, गुणस्तर र भौैतिक संरचनाबारे जानकारी लिनुभएको थियो ।
अनुगमन टोलीमा प्रदेश सरकारका मुख्यसचिव मदन भुजेल, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव राजेशकुमार मिश्र र सोही मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवं अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरलगायत सहभागी हुनुहुन्थ्यो ।
अनुगमन टोलीका सदस्यसचिव ठाकुरका अनुसार इमरजेन्सी, फार्मेसी, बहिरङ्ग तथा अन्तरङ्ग कक्ष, ल्याब, एक्स–रे, प्रसूतिकक्ष, शल्यक्रिया कक्ष, सघन उपचार कक्ष, नवजात शिशु सघन उपचार कक्ष, अस्पतालबाट निस्किने फोहोर विसर्जन गर्ने प्रक्रियालगायत विषयमा अनुगमन गरिएको जानकारी दिनुभयो ।
मुख्यमन्त्री सिंहले अनुगमन भएकामध्ये केही अस्पतालले सेवा सञ्चालन स्वीकृति विभिन्न तहका सरकारबाट प्राप्त गरे पनि नवीकरण नगराएका, अधिकांश अस्पताल प्रालिमा दर्ता भएर सेवा सञ्चालन स्वीकृति नलिएका, जस्वास्थ्य नियमावलीले तोकेका मापदण्डअनुसार भौतिक संरचना नरहेका, फार्मेसी अध्ययन गरेका जनशक्ति नभई स्वास्थ्यकर्मीबाट सञ्चालन भएका र कतिपय अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी नभेटिएकाले तत्काल बन्द गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
यसअघि मुख्यमन्त्री सिंहले शुक्रबार मध्यराति जनकपुरधामस्थित मुस्कान अस्पतालमा अनुगमन गरी सेवा सञ्चालन स्वीकृति नलिँदासम्म बन्द गर्न निर्देशन दिएको थियो । अस्पताल सञ्चालकले आज उक्त अस्पताल बन्द गरेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
