`

बुढानीलकण्ठमा २ अर्ब ९६ लाखको अनलाइन जुवा खेलाउने ११ भारतीय नागरिक पक्राउ

Nepal One HD १३ चैत २०८१ १९:२४
अपराध

काठमाडौं । प्रहरीले दुई अर्ब ९६ लाखभन्दा बढीको अनलाइन जुवा खेल्ने÷खेलाउने ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार साँझ बूढानीलकण्ठको देउला टोलस्थित एक घर भाडामा लिई अनलाइन जुवा (सट्टाबाजी) खेलाइरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतीय नागरिकहरू सनी मिणा, मोहित बर्मा, पियुस भारद्वाज, हरकेश डडैया, निशान्त भारद्वाज, आकाश बर्मा, अंकितकुमार सैनी, सन्जु शाकला, रामसिंह जाठ, लोकेश कुमार र विकाश कुमार छन् ।

उनीहरुले दुई अर्ब रुपैयाँभन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा (सट्टेबाजी) खेल्ने–खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजारभन्दा बढी रकमबराबरको अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबार समेत गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ३४ थान मोबाइल, पाँच थान ल्यापटप, हिसाबकिताबको अभिलेख राखिएको नोट बुक चार थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटीएम २७ थान र भारतीय सिमकार्ड ४० थान बरामद गरेको छ ।

उनीहरुलाई काठमाडौ जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको परिसरका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिएका छन् ।


प्रतिक्रिया