`

सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिन नेता निधिको आग्रह

Nepal One HD २६ चैत २०८१ १२:५७
राजनीति

जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीको सङ्गठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका छन् ।

मंगलबार जनकपुरधामस्थित आफ्नो निवासमा आयोजित एक बैठकमा निधिले आगामी कार्ययोजना र क्षेत्रीय सङ्गठन मजबुत बनाउनका लागि केही नयाँ रणनीति अपनाउनुपर्नेमा जोड दिए ।

उनले बैठकमा नेपाली कांग्रेसको भविष्यमा सफलताका लागि पार्टीको संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन महत्वपूर्ण रहेको समेत बताए ।

“नेपाली कांग्रेसको अब गाउँ, नगर र जिल्लामा महत्वपूर्ण भूमिका छ, हामीले जनतासम्म पुग्नका लागि पार्टी संरचनामा सुधार र स्थानीय स्तरमा समन्वयमा सुधार ल्याउन आवश्यक छ,” नेता निधिले भने ।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महेन्द्र यादवले पार्टीको एकता र सङ्गठनलाई बलियो बनाउन निरन्तर संवाद र सहकार्यको आवश्यकता रहेको बताए ।

उनले पार्टीको वर्तमान स्थिति र आगामी चुनावका लागि तयारी अवस्थामा रहेको समेत उल्लेख गरे ।

“मधेसमा पार्टीको उपस्थिति बलियो बनाउनु हाम्रो प्राथमिकता हो, यसका लागि हाम्रा नेता र कार्यकर्ताले यथासम्भव जनताको समस्यासँग जुध्न आवश्यक छ,” उनले भने


प्रतिक्रिया