`

अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजको पक्षमा शानदार जित

Nepal One HD २१ वैशाख २०८२ १३:१३
विश्व

सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले चुनावमा भारी मतले विजयी हुँदै जीवनयापनको पीडा र करको उथलपुथलको सामना गर्न ‘अनुशासित र व्यवस्थित’ सरकार गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

६२ वर्षीय अल्बानिज र उनकी हुनेवाला जीवन सङ्गिनी हेडन पुरानो सिड्नीको भित्री भागमा रहेको क्याफे इटालियामा पुग्दा त्यहाँका बासिन्दाले उनीहरूलाई ताली बजाएर स्वागत गरेका थिए ।

अल्बानिजको लेबर पार्टीले १५० सदस्यीय संसद्मा कम्तीमा ८३ सिट जित्ने अनुमान गरिएको आंशिक परिणामले देखाएको छ ।

विपक्षी नेता पिटर डटनको कन्जरभेटिभ लिबरल–नेसनल गठबन्धनले जम्मा ३८ सिट अन्य दलले १२ सिट जितेका छन् भने अन्य १७ सिटको अझै मत परिणाम आइसकेको छैन ।

“हामी हाम्रो दोस्रो कार्यकालमा सरकारका क्रियाकलापलाई ‘अनुशासित र व्यवस्थित’ रूपमा अघि बढाउने पहल गर्नेछौँ,” अल्बानिजले निर्वाचन परिणाम आफ्नो पक्षमा आएको सुनिश्चततापछि क्याफेमा गरिएको पत्रकार सम्मेलनमा भने ।

“हामी हरेक दिन कडा परिश्रम गर्नेछौँ,” उनले भने । अल्बानिजको कडा आलोचकका रूपमा निर्वाचनमा होमिएका विपक्षी नेता तथा पूर्व प्रहरी डटनले निर्वाचनमा आफ्नै सीट गुमाउनुको दुर्लभ अपमान सहनुपर्यो ।

उनलाई आलोचकहरूले नागरिक सेवामा कटौती गर्ने नीतिहरूको लागि ‘ट्रम्प–लाइट’ को संज्ञा दिएका थिए ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको व्यापार शुल्क र उनीहरूले फैलाएको अराजकता लेबर पार्टीको विजयमा सबैभन्दा ठूलो कारक नहुन सक्छ तर विश्लेषकहरूले तिनीहरू बिजयका लागि सहयोगी बनेको बताएका छन् । 


प्रतिक्रिया