`

भारत–पाकिस्तान विवादले फिल्म र सङ्गीतप्रतिको साझा भावनामा प्रभाव

Nepal One HD १६ असार २०८२ १४:३१
विश्व

लाहोर, पाकिस्तान । भारत र पाकिस्तानका आणविक सम्पन्न सेनाहरूबीचको द्वन्द्वले दुई देशबीचको साझा सांस्कृतिक भावनामा चोट पुर्‍याएको छ । दुई देशबीच राजनीतिक रूपमा द्वन्द्व लामो समयदेखिको निको पार्न नसकिएको घाउ बनेको भएपनि त्यहाँका नागरिकको फिल्म र सङ्गीतप्रति साझा भावना रहँदै आएको देखिन्छ ।

दुई देशबीच सबैभन्दा खराब मानिएको मे महिनाको सुरुमा भएको घातक लडाईंले कलाकारहरूको मनोविज्ञानलाई प्रभावित गरेको अनुभव भएको छ । नेताहरूबीचको वैमनस्यताबाट फिल्मी र साङ्गीतिक क्षेत्र पनि अछूतो रहन सकेन ।

पाकिस्तानी र्‍यापर तथा कमेडियन अली गुल पिरले केही वर्षअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मजाक गर्दै एउटा गीत सार्वजनिक गरेको थियो ।उनको युट्युब च्यानल र इन्स्टाग्राम प्रोफाइल भारतमा मे महिनामा ब्लक गरिएको थियो ।

“डिजिटल स्पेसले पाकिस्तानी र भारतीयबीच पुलको काम गर्छ भन्ने कुरा अहिले भारतीयहरूले बुझेका छन् र उनीहरू त्यो सम्बन्ध तोड्न चाहन्छन्,” पिरले एएफपीसँग भने ।

भारत प्रशासित काश्मिरमा गत अप्रिलमा पर्यटकमाथि भएको घातक आक्रमणपछि द्विपक्षीय सम्बन्ध बिग्रिएको भारतीय दावी छ । पाकिस्तानले उक्त आरोपको खण्डन गरेको छ ।

मे महिनामा आपसी कूटनीतिक प्रतिशोधपछि युद्धविराम हुनुअघि दुई देशबीच चार दिनसम्म युद्ध भएको थियो ।

पाकिस्तानी गायिका अनुरल खालिदले पनि आफ्नो भारतीय फलोअर्स कम भएको पाएपछि पहिलो पटक सङ्गीत उद्योगलाई प्रभावित गरेको महसुस गरेको बताए ।

खालिदले भने, “स्पोटिफाईमा मेरा मासिक ३१ लाख श्रोता छन् । प्रतिबन्धअघि दिल्ली मेरो सङ्गीत सबैभन्दा बढी सुन्ने सहर थियो ।” उनले एएफपीसँग भने, “मैले भारतीय दर्शकमाझ ठूलो क्षति बेहोर्नुपर्‍यो ।”

खालिदले भने, “सङ्गीतलाई यस्तो चीजमा परिणत गरियो । यो गलत हो । श्रोताहरू अहिले सङ्गीत सामग्रीबाट वञ्चित भएका छन् ।”

सन् २०१७ मा भारतमा स्पोटिफाईमा रिलिज भएको फिल्म ‘रइस’ को ‘साउण्डट्र्याक’ जस्ता केही पूर्व आदानप्रदानलाई पनि द्वन्द्वले समेटेको थियो । फिल्ममा पाकिस्तानी सह–कलाकार माहिरा खानलाई हटाइएको छ । भारतीय अभिनेता शाहरुख खानलाई मात्र देखाइएको छ ।

– समान आघात –

पाकिस्तानले हरेक वर्ष कडा सेन्सरसिप नियमअन्तर्गत औँलामा गन्न सकिने मात्र फिल्म निर्माण गरिरहेको छ, बलिउड सधैँ दर्शकमाझ लोकप्रिय साबित भएको छ ।

“म बलिउड हेरेर हुर्केको हुँ”, पाकिस्तानी फिल्म समीक्षक सजीर शेखले भने, “हामीसँग एउटै पीडा छ, हाम्रो इतिहास उस्तै छ, हामीसँग एउटै कथा छ ।”

पाकिस्तानी अभिनेता र निर्देशकहरूले दशकौँदेखि बलिउडमा आफ्नो स्थान बनाउनुलाई अन्तिम मान्यताका रूपमा हेरिरहेका छन् ।

तर यसै महिना भारतीय अभिनेता दिलजीत दोसाँझले आफ्नो पछिल्लो फिल्म ‘सरदार जी ३’ सार्वजनिक गरेको थियो । यसमा चार पाकिस्तानी कलाकार छन् । नयाँदिल्लीले पाकिस्तानी सामग्री र कलाकारहरूलाई प्रोडक्सनमा प्रतिबन्ध लगाएपछि ‘विदेशमा मात्र’ प्रदर्शन हुनेछ ।

पाकिस्तानका फवाद खान र भारतीय अभिनेत्री वाणी कपुर अभिनीत प्रेमकथामा आधारित फिल्म ‘अबिर गुलाल’ मे ९ मा रिलिज हुने तय भए पनि रिलिज स्थगित गरिएको थियो ।

पहिले सीमापार कलात्मक व्यापारलाई समर्थन गर्ने उद्योगका केही व्यक्तिले पनि गत महिना आफ्नो स्वर परिवर्तन गरेका थिए ।

“अब, क्रिकेट, फिल्म, सबै कुरामा प्रतिबन्ध लगाइनुपर्छ,” पाकिस्तानी फ्यान र फलोअर भएका भारतीय अभिनेता सुनील शेट्टीले भने ।

उनले सन् २००४ को चलचित्र ‘मै हुँ ना’ मा अभिनय गरेको थियो । यसले भारत र पाकिस्तानबीच शान्तिलाई सूक्ष्म रूपमा बढावा दिन्छ ।

पाकिस्तानमा रहेको दक्षिण एसियाको म्युजिक लेबल वार्नर ब्रदर्सका असिस्टेन्ट म्यानेजर दुआ जाहराले भने, “राजनीतिका लागि यो वास्तवमै दुर्भाग्यपूर्ण कुरा हो ।”

– आउनुस्, कला मात्र बनाऔँ –

काश्मिर आक्रमणपछि नयाँदिल्लीले केही पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको थियो जसमा निजी प्रसारक एचयुएम टिभी पनि सामेल थियो ।

करिब ४० प्रतिशत दर्शक भारतीय रहेको बताउने च्यानलले आफ्ना फ्यानहरुलाई भिपिएनको प्रयोग गरेर च्यानल हेर्ने काम जारी राख्न भनेको छ ।

एक दशकभन्दा अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार ग्रहण गरेदेखि धेरै भारतीय आलोचक र फिल्म निर्माताहरूले बलिउडले अब उनको सरकारको हिन्दू राष्ट्रवादी विचारधारालाई मात्र बढावा दिइरहेको बताएका छन् ।

द्वन्द्वले सांस्कृतिक परिदृश्यमा विभाजन सिर्जना गरेको भए तापनि व्यापार कायम रहने सङ्केतहरू छन् ।

युद्धविरामको एक महिनापछि, तीन भारतीय फिल्म नेटफ्लिक्स पाकिस्तानमा शीर्ष १० स्थानमामा थिए भने भारतमा शीर्ष २० वटा ट्रेन्डिङ गीतमा दुई पाकिस्तानी गीत परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *