भृकुटीमण्डपबाट देउबालाई फूलको प्रहार, के देलान् देउबाले उपहार?
कांग्रेसका दुई महामन्त्रीको अगुवाइमा भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन समारोह चलिरहँदा सभापति शेरबहादुर देउवा मौन थिए । साँझ पाँच बजे आसपासमा विशेष महाधिवेशनमा सहभागिताका लागि ५० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरे भने यति नै बेला देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाए ।
भृकुटीमण्डपमा गगन-विश्वलाई समर्थन गर्दै भाषण गरेका अधिकांश नेताहरूले देउवालाई उद्घाट समारोहमा प्रमुख अतिथि बन्ने अवसर गुमाए पनि भोलि बन्द सत्र उद्घाटन गर्न आउन आग्रह गरेका थिए । विशेष महाधिवेशन आयोजकले सभापति देउवालाई प्रमुख अतिथि नै बनिदिन आग्रह गरेका थिए । निमन्त्रणा पत्र बोकेर गएका थिए रामपल्टन साह । साहले देउवा भेट्न त पाएनन्, देउवाका स्वकीय सचिव भानु देउवाले झपारेर फर्काएका थिए । साहका अनुसार भानु देउवाले चिठी पढेर उनकै खल्तीमा मात्रै राखिदिएनन्, ‘लाज लाग्दैन?’ भन्दै झपारे । अनि, तुरून्तै निस्केर जाऊ भनेर आदेश दिए ।
देउवा डेरामा अपमान भोगेका विशेष महाधिवेशन आयोजकले भने देउवालाई फूलले प्रहार गरे। उद्घाटन कार्यक्रममा बोल्ने अधिकांश नेताहरूले देउवालाई सभापतिका रुपमा पार्टी फूट्न नदिन अनुरोध गरे । उनीहरुले देउवालाई किसुनजी सम्झाए । २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले अलग भेला गरेका थिए । यो भेलाले पार्टीलाई फुटतिर लगेको थियो । तर, पार्टी सभापति कृष्णप्रसाद भट्टराई कार्यक्रमस्थलमा पुगे र सबैलाई ‘जय नेपाल’ भनिदिए । किसुनजीले नै गिरिजाबाबु र उनका समर्थकलाई जय नेपाल गरेपछि पार्टी फुट्नबाट जोगिएको थियो । यो फूलको प्रहारले देउवा कति पग्लिन्छन्, त्यो अलग कुरा हो ।
तर, विशेष महाधिवेशनमा बहुमत प्रतिनिधिले सहभागिता जनाउने सुनिश्चित भएपछि देउवा दबावमा छन् । विधानअनुसार आव्हान गरिएको र बहुमत सदस्यले सहमागिता जनाएको विशेष महाधिवेशनलाई अवैध करार गर्ने बाटोमा देउवा हिड्ने हो भने पार्टी विभाजन हुने निश्चित छ । विशेषले नयाँ नेतृत्व चयन गर्ने हो र त्यसलाई देउवाले नस्वीकार्ने हो भने चुनावको मुखमा काँग्रेस फुट्ने निश्चित नै हुने छ ।
विशेष महाधिवेशनवालाहरू लचक भए र नयाँ नेतृत्व चयन गरेनन् भने भने पनि पार्टी कसरी चलाउने, के गर्ने के नगर्ने भन्ने नीतिगत निर्देशन महाधिवेशनले पक्कै दिने छ । यसपछि पनि मनलाग्दी नेतृत्वले पार्टी सञ्चालन गर्ने ठाउँ रहनेछैन । विशेषको निर्देशनले देउवा र कार्यवाहक सभापति खड्कालाई मज्जैले अंकुश लगाउने छ ।
विशेषको निर्देशनले चुनाव अघि अर्को पार्टीसँग गठबन्धन गर्ने कि नगर्नेदेखि लिएर उम्मेद्वार कसरी छान्ने भन्नेसम्ममा देउवा-खड्कालाई बाउन्ड्री कोर्न सक्छन् । यसले देउवामाथि दवाब बढ्ने नै छ । अझ, देउवा पक्षका मानिएका गोपालमान श्रेष्ठजस्ता नेताहरू भृकुटीमण्डपमा गएर गगन-विश्वलाई ढाडस दिएपछि देउवामाथि पर्ने दवाब थप चर्को भयो ।
यतिबेला भृकुटीमण्डपमा जिज्ञासा छ- के भोलि देउवाले भृकुटीमण्डपको हलमा आएर ‘जय नेपाल’ गर्लान् ?
किसुनजीको उदाहरण पछ्याउँदै देउबाले ‘जय नेपाल’ गरेनन् भने कांग्रेस फेरि फुट्ला ? २०५९मा पार्टी फुटाएको मात्रै होइन, ज्ञानेन्द्र शाहको पछि लागेर प्रजातन्त्रै मासेको आरोप बोकेका देउवाले पार्टी फूटाएको अर्को आरोप पनि बोक्नु पर्ला ?
देउवालाई फूलले प्रहार गरिरहेका भृकुटीमण्डप सभाका सहभागी पनि यति बेला सोचिहरेका छन्- महाराजगञ्जबाट के देलान् देउबाले उपहार ?
तर, त्यो भन्दा ठूलो प्रश्न छ- काँग्रेस कता जाँदै छ ?
