चीनको आर्थिक विकासमा आन्तरिक बजारको योगदान बढ्दै


चीनका वाणिज्य मन्त्री वाङ वेन्ताओका अनुसार, सन् २०२१ देखि पछिल्ला चार वर्षमा चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिमा आन्तरिक खर्चले औसत वार्षिक रूपमा करिब ६० प्रतिशत योगदान पु¥याएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री वाङले बताएअनुसार अहिले चीनको आर्थिक वृद्धिमा जनताको खर्च मुख्य आधार बन्न पुगेको छ र यसको प्रभाव अझ बलियो बन्दै गएको छ ।
उहाँका अनुसार, चीनमा घरेलु माग विस्तार हुँदै गएको छ । जनताको जीवनस्तरमा सुधार, रोजगारीका अवसरमा वृद्धि, सेवा क्षेत्रमा विकास, ग्रामीण बजारको मजबुती र प्रविधिको बढ्दो प्रयोगका कारण खर्च गर्ने क्षमता बढेको देखिएको छ । वाणिज्य मन्त्रालयले जानकारी दिएको अनुसार, सरकारले जनताका लागि खर्च गर्न सहज वातावरण बनाउन नीति परिवर्तन, बजार पहुँच सरल बनाउने र उत्पादन तथा सेवा क्षेत्रमा लगानी बढाउने उपायहरू लागू गरेको छ ।
चीन सरकारले पछिल्लो केही वर्षदेखि देशभित्रको बजारलाई मजबुत बनाउने रणनीति अपनाउँदै आएको छ। यसैअनुसार, आर्थिक रुपान्तरणको केन्द्रमा अब देशभित्रको खर्चलाई राखिएको छ । अघिल्ला वर्षहरूमा लगानी र निर्यातमा भर पर्ने चिनियाँ अर्थतन्त्र अहिले देशभित्रको खपत र सेवा क्षेत्रमा आधारित बन्दै गएको छ ।
मन्त्री वाङका अनुसार, दीर्घकालीन रूपमा आर्थिक विकास कायम राख्न जनताको खर्चले महत्त्वपूर्ण भूमिका खेल्नेछ । यसले उत्पादन, रोजगारी र कर प्रणालीमा समेत सकारात्मक असर पार्ने विश्वास व्यक्त गरिएको छ ।