एमाले पोलिटब्युरो : दोस्रो दिनको बैठक जारी


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक आज पनि जारी छ ।
पार्टी कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि सदस्यहरूले धारणा राखिरहेका छन् ।
शुक्रबारको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विकसित राजनीतिक घटनाक्रम, सरकार र विधानका बारेमा धारणा राखेका थिए ।
विधान संशोधन प्रस्तावमा पार्टीको विधान (२०७८ संशोधन) को धारा ६४ मा रहेको ७० वर्ष उमेर हद र दुई कार्याकाल व्यवस्था हटाउने राखिएको छ । साथै पदाधिकारी सङ्ख्या १५ जना सहित केन्द्रीय कमिटीको सङ्ख्या २५१ रहने तथा स्थायी कमिटी, पोलिटब्युरो कमिटी र केन्द्रीय कमिटी गरी तीन तह रहने व्यवस्था गरिएको छ ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पार्टीको पदाधिकारी सङ्ख्यालाई स्थायी कमिटी मान्ने प्रस्ताव गरिएको छ । यसअघि पदाधिकारीलाई सचिवालय सदस्यको रुपमा मानिएको थियो । विधान महाधिवेशन केन्द्रीत पोलिटब्युरो बैठक आजै समापन गर्ने कार्यतालिका उनले जानकारी दिए।
एमालेको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा हुने तालिका छ ।