एमालेको पोलिटब्युरो बैठक आजै सक्न अध्यक्ष ओलीको रुलिङ


काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको पोलिटब्युरो बैठक जारी छ । हिजोदेखि सुरु भएको बैठक आगामी भदौमा हुने विधान महाधिवेशन, त्यसको तयारी र पछिल्लो पटक एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण लगायतका विषयमा केन्द्रित छ ।
च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा नेताहरूले आ–आफ्ना धारणा व्यक्त गर्ने क्रम जारी रहेको छ ।
पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दिएको जानकारी अनुसार, हिजो र आज जम्मा ३२ जनाले आ–आफ्नो धारणा राखेका छन्, भने करिब ४० भन्दा बढी सदस्यले बोल्न बाँकी रहेको र त्यो क्रम अहिले चलिरहेको गौतमले जानकारी दिए ।
गौतमका अनुसार, पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजै बैठक सक्नेगरी रुलिङ गरेका छन् । सोही अनुसार आजै साँझ ६/७ बजेसम्म बैठक सक्नेगरी लागिएको उनले बताए ।
मूलत: आजको बैठकमा पार्टीका पोलिटब्यूरो र स्थायी कमिटी सदस्यले पार्टी विधानमा उल्लेख भएका विषयका अतिरिक्त पनि आफ्ना कुरा राखेको उनले बताए ।
त्यसका साथै, पार्टीका कमिटीहरूलाई समन्वय र कार्यकारीको भूमिकामा अघि बढाउनु पर्ने लगायतका कुरा पनि नेताहरूले राखेको उनले बताए ।