ब्राजिलका न्यायाधीशमाथि अमेरिकी प्रतिबन्ध, राष्ट्रपति लुलाद्वारा विरोध


ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पूर्वनेता जायर बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा न्यायाधीशमाथि लगाइएको अमेरिकी भिसा प्रतिबन्धको आलोचना गर्नुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निकट मानिने बोल्सोनारोविरुद्धको ‘कू’ मुद्दामा सुनुवाई गरेका ती न्यायाधीशले बोल्सोनारोले ‘इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस’ लगाउनुपर्ने, रातको समयमा घरमै बस्नुपर्ने र फैसलाको पर्खाइमा रहेका बेला सामाजिक सञ्जालबाट टाढा रहन आदेश दिनुभएको थियो।
राष्ट्रपति लुलाले एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा भन्नुभएको छ, “मेरो ऐक्यबद्धता र समर्थन सर्वोच्च सङ्घीय अदालतका न्यायाधीशहरूप्रति रहन्छ । उहाँ अमेरिकी सरकारको अर्को स्वेच्छाचारी र पूर्णतया आधारहीन कदमबाट प्रभावित हुनुभएको छैन ।”
“एक देशको न्याय प्रणालीमा अर्को हस्तक्षेप अस्वीकार्य छ र यसले राष्ट्रहरूबीचको सम्मान र सार्वभौमिकताको आधारभूत सिद्धान्तहरूको उल्लङ्घन गर्दछ।”
बोल्सोनारोमाथि सन् २०२२ मा लुलाले जितेको चुनाव उल्टाएर सत्तामा टिकिरहन खोजेको आरोप लागेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले शुक्रबार बोल्सोनारोले इलेक्ट्रोनिक मोनिटरिङ डिभाइस लगाउनुपर्ने, रातको समयमा घरमै बस्नुपर्ने र फैसलाको पर्खाइमा रहेका बेला सामाजिक सञ्जालबाट टाढा रहन आदेश दिनुभएको थियो ।
त्यसको केही घण्टापछि संयुक्त राज्य अमेरिकाले मोरास र उहाँका ‘सहयोगी’ र उनीहरूका परिवारका सदस्यहरूको भिसा रद्द गरेको थियो ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक विज्ञप्तिमा भनेका छन्, “ब्राजिलको सर्वोच्च सङ्घीय अदालतका न्यायाधीश एलेक्जेन्ड्रे डी मोरेसले जायर बोल्सोनारोविरुद्ध गरेको ‘राजनीतिक पूर्वाग्रहपूर्ण’ उत्पीडन र सेन्सरसिपले जटिलता सिर्जना गरेको छ । यसले ब्राजिलियालीहरूको आधारभूत अधिकारको उल्लङ्घन मात्र गरेको छैन, अमेरिकीहरूलाई लक्षित गर्न ब्राजिलको सीमाभन्दा बाहिर पनि फैलिएको छ ।”
ट्रम्प र बोल्सोनारो दुवैले आफू राजनीतिक उत्पीडनको सिकार भएको दाबी गर्दै आएका छन् र बोल्सोनारोले आफ्नो फैसलालाई लिएर न्यायाधीशहरूमाथि बारम्बार मौखिक आक्रमण गर्ने गरेका छन्।