पूर्वराष्ट्रपति भण्डारी च्यासल जाँदै, ओलीसँग पार्टी कार्यालयमा आज भेटवार्ता हुने


काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमाले पार्टी केन्द्रीय कार्यालय च्यासल जाँदैछन् । भण्डारी दिउँसो ३ बजे च्यासल जाने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ ।
भण्डारी प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न च्यासल जान लागेकी हुन् ।
दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकमा भण्डारीको राजनीतिमा आगमनबारे देखिएको विवाद समाधान गर्न अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारी आपसमा बस्नुपर्ने सुझाव धेरै पोलिटब्युरो सदस्यले दिएका थिए।
बैठकमा प्राप्त सुझावलाई ख्याल गर्दै अध्यक्ष ओलीले बैठकमा आफूले भण्डारीसँग भेट्ने बताएका थिए।
५ गते बस्न लागेको केन्द्रीय कमिटी बैठक अघि नै यसलाई टुंग्याउनुपर्ने “म्यान्डेट” अनुसार ओलीले भण्डारीसँग छलफल थालेका हुन्।
यो भेटपछि नै भण्डारीलाई पार्टीमा दिने जिम्मेवारी र उनको सदस्यता नवीकरणको विषय टुंगिनेछ।