एमालेको केन्द्रीय कमिटी बैठक सुरू


काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी बैठक सुरू भएको छ । पार्टीको केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा आगामी विधान महाधिवेशनका प्रस्तुत हुने विधानको मस्यौदाबारे छलफल हुनेछ ।
केन्द्रीय कमिटीको बैठक मङ्गलबारसम्म चल्नेछ । यसअघि यही साउन २ र ३ गते एमालेको पोलिटब्यूरो बैठकबाट विधान सशोधनको प्रस्ताव पारित भएको थियो ।
बैठकको सुरुवमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक, सरकारको एकवर्ष, पार्टीको सचिवालय र पोलिटव्यूरो बैठकका निर्णयबारे जानकारी गराउनेछन् । महासचिव शंकर पोखरेलले सांगठनिक अवस्थाका बारेमा जानकारी गराएपछि बैठक विधान छलफलमा प्रवेश गर्नेछ ।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले विधान मस्यौदा गर्न जिम्मेवारी प्राप्त उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधनको प्रस्ताव प्रस्तुत गर्ने र प्रस्तावित विधान संशोधनबारे इच्छुक केन्द्रीय सदस्यलाई बढीमा तीन मिनेटभित्र आफ्ना धारणा राख्न समय दिइने बताए।
बैठकमा सचिवालय, स्थायी कमिटी र पोलिटब्यूरो सदस्यबाहेक करिब २३० केन्द्रीय सदस्यले धारणा राख्न सक्नेछन् । विधान संशोधन प्रस्तावमा पार्टीको पदाधिकारीमा ७० वर्षे उमेर हद र एकै पदमा दुई कार्यकाल बस्न नपाइने व्यवस्था हटाउने प्रस्ताव रहेको जनाइएको छ ।
एमालेको विधान महाधिवेशन आगामी भदौको २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने तय भएको छ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेको विषयमा पनि केन्द्रीय कमिटीमा विषय उठ्ने जनाइएको छ ।