`

नेपाल–भारतबीच उच्च प्रभाव सामुदायिक विकासका ५ परियोजनामा समझदारी

Nepal One HD ५ साउन २०८२ २३:०८
बिशेष

५ साउन, काठमाडौं । नेपाल र भारतबीच शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपालमा ५ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाउन समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

भारत सरकारको अनुदान सहयोगमा सञ्चालन हुने ती परियोजनाका अघि बढाउन काठमाडौंस्थित भारतीय राजदूतावास र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय एवं नेपाल सरकारका परियोजना कार्यान्वयन निकायहरुूबीच सोमबार समझदारीपत्रमा हस्ताक्षर भएको हो । यी परियोजनाको कुल अनुमानित लागत ३९ करोड रुपैयाँ बराबर छ ।

भारतीय दूतावासका अनुसार यी पाँच परियोजनामा धनुषा बटेश्वर गाउँपालिका–३ स्थित जनशक्ति मावि भवन निर्माण, पर्सा पोखरिया नगरपालिकास्थ्ति महोवनी पद्म मावि निर्माण, अछाम मेल्लेख गाउँपालिकास्थित बासुकी मावि निर्माण, बारा प्रसौनी गाउँपालिका–२ स्थित बेंगा साह मावि भवन, छात्रावास तथा पुस्तकालय निर्माण र मनाङ नासोँ गाउँपालिका–५ मा पाँच शैयाको अस्पताल भवन निर्माण छन् । यी परियोजना कार्यान्वयन नगरपालिका र गाउँपालिका सहित नेपाल सरकारका स्थानीय निकाय तथा संस्थामार्फत गरिने छ ।

यी संरचना निर्माणले नेपालीलाई राम्रो शिक्षा र स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत गर्ने दूतावासको अपेक्षा छ । सन् २००३ यता भारत सरकारले सोमबार समझदारीपत्रमा हस्ताक्षर भएका ५ परियोजना सहित नेपालमा ५ सय ७९ उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको दूतावासले जनाएको छ ।

तीमध्ये नेपालका ७ वटै प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ क्षेत्र र सार्वजनिक उपयोगी वस्तु निर्माणमा ४ सय ९६ परियोजना सम्पन्न भइसकेको र बाँकी परियोजना विभिन्न चरणमा रहेको भारतीय दूतावासको भनाइ छ ।

दूतावासका अनुसार दुई देशबीच व्यापक र बहुक्षेत्रीय सहकार्य छ । उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनले नेपालीको सशक्तीकरण र प्राथमिकता क्षेत्रमा पूर्वाधार विस्तार गर्न नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको प्रतिविम्बित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *