पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भयो : शंकर पोखरेल


काठमाडौँ । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता स्वतः निष्क्रिय भएको स्पष्ट पारेको छ ।
पार्टीको केन्द्रीय कमिटी बैठकको निर्णयका बारेमा जानकारी दिन बुधबार पार्टी कार्यालय च्यासलमा एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेमा महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति भण्डारी पार्टी राजनीतिमा फर्किन उपयुक्त नहुने निष्कर्ष पार्टीले निकालेपछि सदस्यता नवीकरणको विषय स्वतः निष्क्रिय भएको बताए ।
‘विद्या भण्डारी एमालेको राजनीतिमा आउँदा पार्टीलाई फाइदा नै हुन्छ । उहाँको व्यक्तित्वले एमाले बलियो नै हुन्थ्यो,’ हिजो सकिएको केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्दै पोखरेलले भने, ‘तर यस्तो प्रवृतिले लोकतान्त्रिक मूल्य मान्यतालाई खण्डित गर्दछ ।’
एमालेको सदस्यता नविकरण नहुँदा उहाँ घरमा बस्नुहुन्छ भन्ने पार्टीको अपेक्षा नरहेको उनको भनाइ छ । उनी अभिभावक भएकोले समसामयिक राजनीतिक विषयमा चासो र चिन्ता राख्नुलाई अस्वभाविक नभएको पोखरेलको भनाइ छ ।
पत्रकारहरुको प्रश्नको जवाफमा महासचिव पोखरेलले योग्यता पुगेका कुनै पनि प्रतिनिधि पार्टी अध्यक्षका रुपमा उम्मेद्वार हुन पाउने बताए । ‘योग्यता पुगेका महाधिवेशन प्रतिनिधि अध्यक्षको उम्मेदवार हुन पाउँछन्, हामीले कसैलाई छेकेका छैनौ,’ महासचिव पोखरेलले भने, ‘तर केन्द्रीय कमिटीको एक मतले मिसन ०८४ को नेतृत्व केपी ओलीले नै गर्नु पर्दछ भनेको छ ।’
पूर्वराष्ट्रपति एमालेमा प्रवेश गर्दा पार्टी बलियो हुने भए पनि लोकतन्त्र कमजोर हुने उनको भनाइ छ । महासचिव पोखरेलले दुई कार्यकाल र ७० बर्से उमेर हद हटाएका कारणले अध्यक्ष केपी ओली निर्विकल्प भएको भन्ने विषय राजनीतिक कुरा मात्रै भएको जिकिर गरे । विधान अनुसार योग्यता पुगेका कुनै पनि प्रतिनिधि पार्टी अध्यक्षका रूपमा उम्मेदवार हुन पाउने हक राख्ने उनले बताए ।